नेपाल क्रिकेट संघ (क्यान)ले लेग स्पिनर सन्दीप लामिछानेलाई आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेलाउन पहल गरिरहेको जनाएको छ।
क्यानका सचिव पारस खड्काले लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी गराउन आईसीसीलगायत सम्बन्धित निकायहरूमा पहल भइरहेको जानकारी दिए।
मंगलबार विज्ञप्ति जारी गर्दै खड्काले भनेका छन्, ‘सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा यस संघबाट गम्भीरताका साथ आईसीसीलगायत सम्बन्धित निकायहरूमा पहल भइरहेको छ।’

नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली अमेरिका पठाइसकेको छ। त्यतिबेला सन्दीपको मुद्दा अदालतमा विचाराधीन भएकाले टोलीमा समेटिएका थिएनन्। उच्च अदालत पाटनबाट गत बुधबार सफाइ दिएसँगै लामिछानेको विश्वकप खेल्ने बाटो खुलेको हो।
टी–२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा नेपाली क्रिकेट टोलीले अभ्यास खेल पनि खेलेको छ। ह्युस्टनमा मे २२ र २३ मा २ अभ्यास खेलपछि टोली ड्यालसमा क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्नेछ। क्यानाडासँग मे २७ र अमेरिकासँग मे ३० मा वार्मअप म्याच हुनेछ।
नेपालले जुन ४ मा टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ। समूह डीमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्। नेपालले दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षिण अफ्रिकासँग जुन १४ र चौथो खेल बंगलादेशसंग जुन १६ मा खेल्नेछ।






















