प्रहरीले झापाको बिर्तामोड-४ कालिकानगरकी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
विष्टको हत्या भएको २० दिनपछि हत्या आरोपमा प्रहरीले बिर्तामोडका गंगा चौधरी र (एक नाम खुल्न बाँकी) लाई पक्राउ गरेको हो । पक्राउ परेकाले हत्या आरोप स्वीकार गरेको प्रहरीले जनाएको छ ।
बिर्तामोड-४ कालिका टोल निवासी ६८ वर्षीया विष्णुमाया विष्टको बैशाख २६ गते हत्या भएको थियो ।घरमा एक्लै भएको अवस्थामा विष्ट मृत अवस्थामा भेटिएकी थिइन् । उनको खन्तीले हानेर हत्या गरिएको प्रहरीले सोही समय पुष्टि गरेको थियो ।
प्रहरीका अनुसार मृतकको शव भुइँमा रगतमा लटपटिएको र कोल्टे परेको अवस्थामा भेटिएको थियो ।प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट प्रहरी कुकुर समेत मगाएको थियो । कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही संकेत दिए पनि लिटल फ्लावर्स स्कुलदक्षिण पुगेपछि अल्मलिएको थियो ।
प्रहरीले हालसम्म शंकाको घरामा रहेको व्यक्तिहरुलाई बयान तथा सोधपुछ गरेको जनाएको छ ।
सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी अनारमनीको प्रहरीको टोलीले संयुक्त अनुसन्धान गरिरहेका छन् । घटनास्थलबाट केही प्रमाण पनि बरामद गरेको प्रहरी स्रोतले जनाएको छ ।प्रहरीले घटनास्थल आसपास र केही क्षेत्रमा बसेर घटनाको अनुसन्धान गरिरहेको बताए पनि कुनै सुराक भेट्न सकेको थिएन ।

तपाईको प्रतिक्रिया