घरबाटै लागूऔषधको कारोबार गर्ने दुई जनालाई प्रहरीले मोरङको सुन्दरहरैँचाबाट पक्राउ गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सुन्दरहरैँचा नगरपालिका–६ का २६ वर्षीय कमल मगर र ३७ वर्षीय मनिष लिम्बू पक्राउ परेका हुन्।
प्रहरीले छापा हान्दा उनको घरबाट लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)जस्तो देखिने धुलो वस्तु ४.३० ग्राम, स्पास्पेन ९२ ट्याब्लेट, ट्रमाडोल २ सय १० ट्याब्लेट, डेकालिङ ८६ ट्याब्लेट, स्पास्मो २५ ट्याब्लेट, स्टिलको थाल, गाँजा काट्ने छिनोलगायत बरामद भएको छ। लागूऔषध बरामद भएसँगै प्रहरीले मगरलाइ पक्राउ गरेको हो।
त्यस्तै, लिम्बूको घरमा साँझ ५ बजेतिर छापा हानेर प्रहरीले खैरो हेरोइनजस्तो देखिने धुलो वस्तु २.९७ ग्राम, सानो खालको डिजिटल तराजु, कैंची, मोबाइल, स्टिलको थाल, लाइटरलगायत बरामद गरेको छ। लागूऔषधलगायतका सामान बरामद भएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको छ।
लागूऔषधसहित पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ। उनीहरुका सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ।






















