सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काठमाडौं उपत्यकालाई सांस्कृतिक सहरको रुपमा घोषणा गर्नुपर्ने बताएका छन् ।

बुधवार सरकारले प्रतिनिधि सभामा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा उनले काठमाडौं उपत्यकालाई सांस्कृतिक सहरको रुपमा विकास गर्न आवश्यक रहेको बताएका हुन् । मुलुक आधुनिक विकासको ढाँचामा जाने हो भने शैक्षिक सहर, सांस्कृतिक सहर, आर्थिक सहरको रुपमा पनि घोषणा गरी सरकारले काम गर्नुपर्ने प्रमुख सचेतक परियारको भनाई थियो । उनले लामो संघर्षबाट प्राप्त राजनीतिक व्यवस्थामा सरकारले अर्थमा जोड दिएर काम गर्नुपर्ने बताए ।

उनले भने ‘संघीयता कार्यान्वयनका विषयमा पनि धेरै काम गर्न बाँकी छ । नागरिक अधिकार, मानव अधिकार र सांस्कृतिक अधिकारहरू बचाउन र त्यो अधिकारलाई सुनिश्चित गर्न पनि हामीले धेरै कुरा गर्न बाँकी छ । बजेटमा संस्कृतिलाई सम्वद्र्धन गर्ने कुरा गरिएको छ । मलाई लाग्छ–सकिन्छ भने काठमाडौँ, ललितपुर र भक्तपुरको यो उपत्यकाको तीन वटै सहरलाई अथवा काठमाडौं उपत्यकालाई सांस्कृतिक सहरको रुपमा घोषणा गरौं । र सांस्कृतिक सहरको रुपमा यसलाई विकास गरौं । किनभने सहरहरू विभिन्न किसिमका हुन्छन् । अब हामीले आधुनिक विकासमा जाने हो भने सहरहरूलाई शैक्षिक सहर, सांस्कृतिक सहर, विकसित सहर, आर्थिक सहरको रुपमा पनि घोषणा गर्नुपर्छ भन्ने मलाई लाग्छ । लामो संघर्षबाट प्राप्त गरेको राजनीतिक व्यवस्था जसरी हामीसँग छ । त्यो व्यवस्थालाई कार्यान्वयन गर्नका लागि अव हामीले विशेष गरी अर्थमा अर्थनीतिमा काम गर्नुपर्छ भन्ने लाग्छ । ’

प्रमुख सचेतक परियारले सरकारले संघीयता कार्यान्वयनका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको पनि बताए ।

तपाईको प्रतिक्रिया