विराटनगर महानगरपालिकाले पशुपालक किसानका लागि परजीवि नियन्त्रणका लागि औषधि वितरण गरेको छ ।
महानगरको पशुपंक्षी शाखाले वडा नम्बर १८ को भेडियारी टोलमा आयोजित कार्यक्रममा किसानलाई परजीवि नियन्त्रणसम्बन्धी औषधि वितरण गरेको हो । पशुको गोबर जाँच गरी आन्तरिक परजीवि नियन्त्रणका लागि निःशुल्क रुपमा औषध वितरण गरिएको शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिएका छन् ।
वडाध्यक्ष जितेन्द्रकुमार साहको समेत उपस्थितिमा भएको कार्यक्रममा ७६ घरपरिवारका २ सय ३५ वटा पशुवस्तुलाई परजीविको औषधि निःशुल्क वितरण गरिएको पशुपंक्षी शाखाका गणेश पौडेलले जानकारी दिए । पशुका लागि आयोजित शिविरमा शाखाकी डा. सरहाना सुवेदीले चेकजाँच गरेकी थिइन् । महानगरमा दर्ता भएका ४० वटा पशु कृषि फर्मलाई समेत परजीवि नियन्त्रणको औषधि निःशुल्क वितरण गरिएको उनले बताए । यस वर्ष १ सय २१ जना किसानलाई हिउँदे र वर्षे घाँसको बिऊसमेत निःशुल्क वितरण गरिएको शाखा प्रमुख यादवले बताए । १ सय महिला बाख्रा कृषक समूहलाई पनि आन्तरिक र बाह्य परजीवि नियन्त्रणको औषधि वितरण गरिएको छ ।