शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्ने बताएकी छन् ।

बागमती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजबाट आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’ को शुभारम्भ गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले यो सुरुवात मात्रै भएको भन्दै मेलाले उद्यमी बन्न चाहनेको लागि सहज प्रक्रियाको जानकारी दिने बताइन् । कुनै रोजगारीको लागि कस्तो खालको शिक्षा तथा सीपको आवश्यकता पर्दछ भन्ने विषयमा पनि छलफल हुने बताइन् । मन्त्री श्रेष्ठले उद्योग, शिक्षा र श्रम मन्त्रालयको सहकार्यमा भोकेशनल तालिमहरू सञ्चालन गर्न सकिने बताइन् ।

उनले भनिन् ‘यस्तो खालको मेला अति नै आवश्यक छ । हाम्रो मन्त्रालयले पनि यो वर्षदेखि करिअर काउन्सिलबाट सुरु गर्दैछाँै । अन्तर मन्त्रालयको समन्वयमा हामी मुलुक भित्रै रोजगारी सृजना तथा स्वरोजगार बन्न युवाहरूलाई प्रेरित गर्नसक्छौ । सहकार्य लागि पनि हामीले छलफल चलाई रहेका छौँ ।’ उनले भनीन् ।

कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले रोजगार मेलाले सीप र कामको महत्व पनि बुझाउने बताए ।

मेलाको उपलब्धि आजको भोलि नै नदेखिने भन्दै यसले दीर्घकालीन रुपमा सकारात्मक परिणाम देखाउने बताइन् । आगामी दिनमा यो मेलालाई अभियानको रुपमा नै लैजानुपर्ने उनको भनाइ छ । मेलाले मुलुकभित्र केही हुन सक्दैन भनेर बिदेसिनेको मनोविज्ञानलाई परिवर्तन गर्न महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरिन् । साथै मेलाले रोजगारदाताले श्रमिक पाएनौ भन्ने र श्रमिकले रोजगारी पाएनौ भन्ने गुनासोलाई सम्बोधन गर्ने बताइन् ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दैनिक १५सय को हाराहारीमा वैदेशिक रोजगारीमा गइरहेको अवस्थामा यस्तो खालको मेलाले थोरै भएपनि नेपाली युवालाई नेपाल भित्रै रोकी राख्न मद्दत पुग्ने बताए । मेलालाई ठूलो उपलब्धि रुपमा लिन सकिने बताए ।

उनले भने ‘हामीले हाम्रो नेपाली दाजुभाइ दिदी बिहिनीहरुलाई रोक्नेको निमित्त निश्चित तवरले इम्प्लोयमेण्ट जेनेरेशनको प्रोजेक्टहरू ल्याउनुपर्छ । खालि गफै गरेर, भाषणै गरेर संघ, प्रदेश र स्थानीय तहमा रातो पुस्तिकामा मात्रै लेखेर काम हुँदैन ।’

जेठ १७ गते देखि कोशी प्रदेशको विराटनगरबाट सुरु भएको रोजगार मेला बागमती प्रदेशको ललितपुरमा आजदेखि सुरु भएको हो । मेला भोलिसम्म सञ्चालन हुनेछ । मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल रहेका छन् ।

तपाईको प्रतिक्रिया