वैदेशिक रोजगारीमा पठाइदिने भन्दै तीन सय जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार गिरोहले सामाजिक सञ्जालको दुरुपयोग गर्दै फेक आइडी बनाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै तीनसय जनाभन्दा बढी मानिसको १५ करोड रुपैंयाँ ठगी गरेका हुन् । फेक आइडीबाट सम्पर्कमा आएका नागरिकका लागि किर्ते कागजात बनाई ५ देखि १० लाखसम्म ठगी गर्दै लुक्ने गरेको अुनसन्धानबाट खुलेको एसएसपी भट्टराईले जानकारी दिए ।
गिरोहले अमेरिका लगिदिने भन्दै विभिन्न देश पुर्याएर अलपत्र पारेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले विभिन्न व्याक्तिहरुका पाँच थान राहदानी, दुई थान मोबाइल सेट, टेलिकमका दुई थान सिमकार्ड, एनसेलको सिम एक थान, राहदानीका सात थान प्रतिलिपि बरामद गरिएको प्रहरीले जनाएको छ ।