राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट रहेको बताएका छन् । शुक्रवार पार्टी स्थापना दिवसको अवसरमा लामिछानेले सामाजिक सञ्जालमार्फत कठिनाइहरूलाई नचिरी एउटा पार्टी स्थापित हुन नसक्ने बताए ।

‘रास्वपा जन्मिएको २ वर्ष भयो। हामी हाम्रो उद्देश्यमा अडिग छौँ, गन्तव्यमा स्पष्ट छौँ। कुरा बाटोको हो। बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङ्गा खस्छ। आम नागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरूको आशा र अपेक्षा सहितका अग्ला अग्ला पहाडहरू काँधमा बोकेर हामी अहिले भिरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौँ। कयौँ कठिनाइहरूलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन,’ उनले लेखेका छन् ।

उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले वैचारिक स्पष्टतासँग राजनीतिक परिपक्वता हासिल गर्दै अगाडि बढ्ने बताए । ‘विश्वास गर्ने एक दुई जना मात्र हुँदा त हिँड्ने आँट गरियो भने आज त हामी सँग लाखौं लाख शुभेच्छुकहरू हुनुहुन्छ। २ वर्ष अघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कयौँ विश्लेषकहरू आज रास्वपा खस्कँदो छ’ भन्ने विश्लेषण वाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोही टक शो मा बोल्न घाँटी र टाइ मिलाउँदै होलान्,’ उनले भने ।

तर आफूहरू आफ्नो यात्रामा अविचलित रहेको सभापति लामिछानेको भनाइ छ । ‘सम्झनुस् त, देश तथा विदेशका टोल टोल बस्ती बस्तीका आम मान्छेको आवाज बोल्दा बोल्दै त्यो आवाजलाई ‘घण्टी’ मा रूपान्तरण गरेर २ वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ। २१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तान्यौँ, ४ मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौं,’ उनी भन्छन् ।

घण्टी सिंहदरबार पसेको भन्दै देशको मतपत्रमा सदाका लागि घण्टी चुनाव चिन्ह बसेको पनि उनको दाबी छ। ‘बाँकी काम हामी गर्छौ,तपाईंहरु न चिन्ता लिनुस्, न पिर गर्नुस्। सबैलाई दोस्रो स्थापना दिवसको शुभकामना,’ उनले लेखेका छन् ।

तपाईको प्रतिक्रिया