मोरङमा विद्यालय जाँदै गरेका बालकको खोलाले बगाएर मृत्यु भएको छ । केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईको मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद तामाङले जानकारी दिए ।

उनका अनुसार तर्ने क्रममा मंगलबार बिहान ९ बजेतिर श्यामलाई स्थानीय गोविने खोलाले बगाएको थियो । खोजी गर्ने क्रममा खोलाले बगाएर १ सय मिटरजति तल पुर्याएको अवस्थामा ९:५० बजेतिर शव फेला परेको तामाङले बताए । उनका अनुसार बालकको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा शव भेटिएको छ ।

मृतक श्याम केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए । विद्यालयका प्रधानाध्यापक सुजन थेवेका अनुसार याङ्शीलाबाट विद्यालय भएको चिउरी भञ्ज्याङ आइपुग्न विद्यार्थीलाई लगभग १ घण्टा समय लाग्छ । २ सय १० जना विद्यार्थी रहेको विद्यालयमा याङ्शीला घर भएका करिब २० जनाजति बालबालिका अध्ययनका लागि आउने गरेको जानकारी थेवेले दिए ।

प्रअ थेवेका अनुसार याङ्शीला र चिउरी भञ्ज्याङ आसपासमा सोमबार रातिदेखि भीषण वर्षा भइरहेको थियो । खोला तर्ने क्रममा वर्षासँगै आएको बाढीले बगाएर बालकको मृत्यु भएको उनले बताए । बालकको मृत्यु भएपछि सिंगो गाउँ र विद्यालय शोकमा डुबेको थेवेले बताए ।

याङ्शीलामा कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालय छ । याङ्शीलाका बालबालिकाले कक्षा ६ देखिमाथि पढ्नलाई चिउरी भञ्ज्याङको जनकल्याण माध्यमिक विद्यालय पुग्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष तामाङले बताए । ‘अलि माथिबाट अर्को सुरक्षित बाटो पनि थियो । तर,लामो भएकाले धेरै घुम्नुपर्छ,’उनले भने,‘छोटो बाटो हुँदै विद्यालय जाने क्रममा दुःखद् घटना भइदियो । छोटो बाटो हिँड्दा बर्खाका बेला बालबालिकाको ज्यान जोखिममा पर्ने गरेको छ ।’

तामाङका अनुसार गोविने खहरे खोला हो । ‘गोविने ठाडो र खहरे खोला हो । हिउँदमा पानी हुँदैन,’उनले भने,‘बर्खामा अलि ठूलो पानी पर्नासाथ उर्लिन थाल्छ । बेला–बेला ह्वात्तै बाढी आउने र बन्द हुने हुन्छ ।’

स्थानीय गोविन्द खड्काका अनुसार विद्यालय जाँदै गरेका ५/६ जना बालबालिका एकैपटक खोलामा छिरेका थिए । एकजना साथीलाई बाढीले बगाएको र अरुले तत्काल बाहिर निस्किएर ज्यान बचाएको जानकारी उनले दिए ।

‘ठूलो पानी परेसँगै खोलामा बाढी आएकाले नानीहरुलाई स्कुल नजानु भनेर अभिभावक कामतिर लागे । तर, उनीहरु स्कुल गएछन्,’खड्काले भने,‘स्कुल जाँदा खोला तर्ने क्रममा भेलबाढीले एकजनालाई बगायो । अरुले भागेर ज्यान बचाएछन् ।’

श्याम राईलाई खोलाले बगाएको भनेर सँगै रहेका साथीहरुले खबर गरेपछि घटनाका बारेमा थाहा भएको उनले बताए । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय केराबारीको संयुक्त टोली घटनास्थलतर्फ लागेको छ ।

घटनास्थल पुग्न प्रहरीलाई करिब ३ घण्टा समय लाग्ने बताइएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया