सुनसरीको इटहरी र मोरङको सुन्दरहरैँचालाई सिमाना भएर बग्ने बूढीखोलाले बगाएर सुन्दरहरैँचा नगरपालिका ५ की प्रेमकला चौधरीको मृत्यु भएको छ ।

अविरल वर्षासँगै आएको बाढीका कारण आज (मंगलबार) बिहानको समयमा चौधरीसहित चारजनालाई बाढीले बगाएको थियो ।

माछा मार्ने क्रममा प्रेमकलासहित सुन्दरहरैँचा ५ की २२ वर्षीया स्वस्तिका चौधरी, सोही स्थानकी ३० वर्षीया फूलकुमारी चौधरी र ६० वर्षीया असरादेवी चौधरीलाई बाढीले बगाएको थियो ।

जसमा स्वस्तिकाको सकुशल उद्धार गरिएको छ भने प्रेमकलाको इटहरी ४ स्थित गैरीगाउँस्थित शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले पुष्टि गरे ।

‘माछा मार्ने क्रममा खोक्सी भन्ने ठाउँबाट चारैजनालाई बगाएको रहेछ, जसमध्ये दुईजनाको अझै खोजी भइरहेको छ,’ उनले भने, ‘बेपत्ताको खोजी जारी रहेको छ ।’

उनका अनुसार मोरङ प्रहरी, सुनसरी प्रहरी, स्थानीयबासीसहितले खोजीको क्रम जारी राखेका छन् । बाढी आएर पानीको बहाब उच्च भएको खोलामा माछा मार्न र दाउरा टिप्न स्थानीय महिलाहरूसँगै उनीहरू पनि गएको खुलेको छ ।

असावधानीपूर्वक माछा मार्ने र दाउरा बटुल्ने क्रममा उनीहरूलाई बाढीले बगाएको हो । मृतक प्रेमकलाको शव पोस्टमार्टमका लागि अस्पताल लगेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

घटनापछि पीडित परिवार विक्षिप्त बनेका छन् ।

तपाईको प्रतिक्रिया