मुगु, छाँयानाथ रारा नगरपालिका–४ भामबाडास्थित सडकमा लु. ५ त ३१४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने राज कुमार रोकायको छोरा २ वर्षीय सुप्रिम रोकायको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रमममा मृत्यु भएको हो ।

स्थानीयको कुटपिटबाट घाइते भएका ट्याक्टर चालकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै सर्लाही, हरिवन नगरपालिका–१ पटौनास्थित खेत जोत्न जाने क्रममा ज.१ त ५७५७ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा सोही ट्याक्टरले च्यापिएर चालक हरिवन नगरपालिका–२ बस्ने ५० सहदेव राउतको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी सर्लाही, बागमती नगरपालिका–५ केराबारीस्थित सडकमा बा. २९ प ९५९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा सोही गाउँपालिका–४ बस्ने मोटरसाइकल चालक सोम बहादुर डिङडुङको छोरी २ वर्षीया कृष्टिना डिङडुङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको गाउँ मैत्री अस्पताल लालबन्दीमा उपचारको क्रमममा मृत्यु भएको हो ।

पर्सा, वीरगंज महानगरपालिका–१४ गण्डकस्थित सडकमा परवानपुरबाट गण्डकतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०२७ प ८०९३ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–१८ सुखचैन बस्ने ३५ वर्षीया गीता देवीको मृत्यु भएको छ । आइतबार दिउँसो  स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको बयोधा हस्पिटल गण्डकमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

त्यस्तै कैलाली, कैलारी गाउँपालिका–४ ‘के’ गाँउ बस्ने ४० वर्षीय देवल चौधरीले आफैले चलाएको खेत जोत्ने चम्पा टेक्टर घर नजिकै पार्किङ गर्ने क्रममा काठको पोलमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रमममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया