परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको ग्रेडवृद्धि (मौका) परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गर्ने भएको छ ।

आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा मिति सार्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।

यसअघि बोर्डले दुई विषयसम्म ननग्रेडिङ (एनजी) मा परेका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ मा हुने जनाएको थियो ।

तर शिक्षा मन्त्रालयले ननग्रेडिङमा परेका सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने निर्णय गरेपछि बोर्डले साउन २३ देखि देशभर परीक्षा सञ्चालन गर्ने भएको हो ।

गत बिहीबार सार्वजनिक एसईईको नतिजामा २ लाख ४२ हजार ३ सय १३ विद्यार्थी ननग्रेडिङ (फेल) भएर कक्षा ११ मा भर्ना पाउन अयोग्य भएका थिए ।

परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ८५ मध्ये ५२ प्रतिशत विद्यार्थी फेल भएको भन्दै आलोचना भएको थियो । लेटर ग्रेडिङ निर्देशिका २०७८ मा दुई विषयसम्म ननग्रेडिङमा पर्ने विद्यार्थीलाई मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन मौका दिने उल्लेख छ ।

तर, शिक्षामन्त्री सुमना श्रेष्ठले ७ वटै विषयमा ननग्रेडिङमा परे पनि मौका परीक्षा दिन पाउने निर्णय गरेपछि पाठ्यक्रम विकास केन्द्रले निर्देशिकाको उक्त व्यवस्था परिवर्तन गरेको छ ।

तपाईको प्रतिक्रिया