राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति र महामन्त्रीबीच विवाद बढ्दै गएको छ। आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले पार्टीको समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव महामन्त्री डा. मुकुल ढकाललाई पेश गर्न नदिएका हुन्।

रास्वपाका महामन्त्री ढकालका अनुसार समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न मंगलबारको सचिवालयको बैठकमा अनुमति दिएको थियो। तर आउन महामन्त्री ढकालले लिखित प्रस्ताव तयार पारे पनि पेश गर्ने अनुमति सभापति लामिछानेले नदिएको जानकारी दिएका छन्।

उनले प्रतिवेदनको आधारमा तयार पारिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रीय स्वतन्त्र पार्टी बनाउनुपर्ने उल्लेख भएको जनाएका छन् ।

‘समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर लिखित प्रस्ताव तयार पारिए पनि पेश गर्ने अनुमति सभापतिले दिनु भएन ।’ढकालले भने,‘प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रीय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ ।’

महामन्त्री ढकालले पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए। महामन्त्री ढकालले पार्टीलाई प्रतिवेदन नबुझाइ मिडियामा विषय छरपस्ट पारेको भन्दै उनलाई स्पष्टीकरणसमेत सोधिएको  छ। महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै रास्वपाको अनुशासन समितिले उनलाई स्पष्टीकरण थमाएको हो।

आजको बैठकमा महामन्त्री डा. ढकालले मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएको जानकारी दिएका छन्। ‘बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार,बोल्न पाउने अधिकार हनन् भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु, उनले भने।

ढकालको प्रतिवेदन औपचारिकरुपमा सार्वजनिक भइसकेको छैन। असार १२ गते सभापति लामिछानेलाई प्रतिवेदन पेश गर्दै ढकालले पार्टीको समकालीन वस्तुस्थितिको यथार्थ चित्रण गर्नुकासाथै पार्टीले लिन पर्ने दिशाका सम्बन्धमा मार्गदर्शन समेत गर्ने विश्वास व्यक्त गरेका थिए। ढकालले भनेका थिए, ‘यो प्रतिवेदन सबै तहका पार्टी पंक्ति तथा आम नेपालीमाझ प्रस्तुत गरिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ। यसलाई तपाईंमा सीमित नराखी सम्पूर्ण सरोकारवालासम्म पुर्याइदिनुहुन हार्दिक अनुरोध समेत गर्दछु।’

तपाईको प्रतिक्रिया