१३ वर्षीया दृष्टिविहीन बालिका बलात्कृत भएकी छन्। घर परिवारका सदस्य रोपाइँमा गएको मौका छोपी आँखा देख्न नसक्ने बालिकालाई घरमा एक्लै भएको बेला  ५० वर्षीय मानिसले बलात्कार गरेको आफन्तको आरोप छ।

बिहान ११ बजेतिर जबरजस्ती करणी गरेर भागेका आरोपीलाई प्रहरीले पक्राउ गरेको जिल्ला  प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक तथा सुचना अधिकारी पोषण थापाले बताए ।

उनले भने, ‘सुस्त मनस्थिति समेत भएकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि आरोपितलाई सोमबार पक्राउ गरेर मंगलबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको हो। बालिकाको स्वास्थ्य परीक्षण भइसकेको छ। दृष्टिविहीन बालिकाको घरमा कोही नभएको मौका पारेर जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख भए अनुसार आरोपितलाई हिरासतमा राखेर थप अनुसन्धान गर्दैछौं।’

गाउँकै विद्यालयमा दृष्टिविहीन बालिका कक्षा ७ मा पढ्छिन्। उनको आँखाको उपचार गर्न आफन्तसँग सदरमुकाम मान्म हुँदै कैलालीको गेटा आँखा अस्पतालमा परीक्षण गरेर एक साताअघि मात्र घर फर्किएकी थिइन्। नागरिक समाज कालीकोटका संयोजक दमनराज बमले फरक क्षमता भएका बालबालिकाहरुको संरक्षणमा अभिभावक तथा अन्य सरोकारवालाहरूको ध्यान नपुगेको बताए।

उनले भने, ‘समाजमा रहेका दृष्टिविहीन बालिकाहरू यसरी असुरक्षित हुनुले थप जोखिम बढ्दै गएको छ। यस्ता घटनाको नागरिक समाज कालीकोट घोर भर्त्सना गर्दछ।’

यसैगरी सामाजिक अभियन्ता हिक्मतजंग मल्लले १३ वर्षीया दृष्टिविहीन बालिका बलात्कृत गर्ने ५० वर्षीयलाई कानुन अनुसार हदै कार्वाही गर्नु पर्ने माग गरेका छन्। उनले भने ‘, राजनितिक दवाव तथा कुनै लोभ लाल्चामा परिवारका सदस्यलाई फसाई दोषीलाई उम्काउने प्रयास कसैले गरे राम्रो हुने छैन।’

जिल्ला अस्पतालमा रहेको आपतकालीन एकद्वारा संकट व्यवस्थापन केन्द्र ओसीएमसीमा मंगलबार बालिकाको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डाः संकेत विश्वकर्माले बताए।

तपाईको प्रतिक्रिया