नेपालमा निम्न माध्यमिक तहको शिक्षक/शिक्षिकाका निम्ति अध्यापन अनुमति पत्र (लाइसेन्स) लिनेको संख्या सबैभन्दा धेरै देखिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार निमावि लाइसेन्स लिएकाको संख्या २०८० को अन्त्यसम्म चार लाख १६ हजार १७६ छ ।

यो संख्या प्राथमिक र माध्यमिक तहकोभन्दा झन्डै दोब्बरले बढी हो । सो अवधिसम्म प्राथमिक तहमा लाइसेन्स लिने दुई लाख दुई हजार ७३९ जना छन् ।

यस्तै, माध्यमिक तहमा एक लाख ९२ हजार ७१३ जनाले लाइसेन्स लिएका छन् । तीनवटै तहमा गरी हालसम्म आठ लाख ११ हजार ६२८ जनाले अध्यापन अनुमतिपत्र लिएको तथ्यांकमा उल्लेख छ ।

खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट भने आर्थिक वर्ष २०६१/०६२ यता ०७९/०८० सम्म ८१ हजार १९० शिक्षक मात्रै पदपूर्ति गरिएको छ । त्यसमध्ये सबैभन्दा धेरै प्राथमिकमा ५५ हजार ५८९ शिक्षक छन् । निमाविमा १४ हजार ७८३ र माविमा १० हजार ८१८ शिक्षक रहेको मन्त्रालयको तथ्यांक छ ।

देशभरका सामुदायिक विद्यालयमा २०८० अन्तिमसम्म ९७ हजार १३१ स्थायी, १३ हजार ९६९ अस्थायी र ४२ हजार १६५ राहतका गरी जम्मा शिक्षक संख्या एक लाख ५३ हजार २७५ छ ।

तपाईको प्रतिक्रिया