विराटनगरमा एक जना युवकको हत्या भएको छ । घटनामा १७ वर्षीय किशोरसहित दुई जना घाइते भएका छन् ।

विराटनगर महानगरपालिका २ स्थित नेपाल टेलिकमनजिक धारिलो हतियार प्रहार गरेर सोमबार राति मोरङको कटहरी गाउँपालिका १ जमटोकीका २१ वर्षीय करण कामतको हत्या गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले पुष्टि गरे ।

उनका अनुसार बाटोमा हिँड्दै गरेकाहरूले कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर राति १० बजेतिर उपचारका लागि विराटनगरको कोशी अस्पताल लगेका थिए।

गम्भीर अवस्थाका कामतको भने उपचारका क्रममा मृत्यु भएको कार्कीले जानकारी दिए । उनका अनुसार मृतक कामतको छाती र कम्मरको भागमा धारिलो हतियारले रोपेजस्तो चोट देखिन्छ। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ।

घटनामा कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् । दुवै जनाको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घटना कसले गराएको हो भनेर यकिन भइनसकेको प्रहरीले जनाएको छ।

घटनाको वास्तविकता पत्ता लगाउन प्राविधिक पक्षसमेतको विश्लेषण गर्दै विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया