सत्ता सहकार्यको सहमति गरेका एमाले र कांग्रेसका नेताहरू सरकारमा कसलाई पठाउने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेका छन्।एमाले र कांग्रेसका बीचमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्न भएको सहमतिलाई दुवै दलले अनुमोदन गरिसके पनि मन्त्रीहरूको नाम भने टुंगो लाग्न सकेको छैन।

ओली र देउवाका बीचमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ। सहमतिनुसार सुरुमा ओली प्रधानमन्त्री हुने र त्यसपछि चुनावी सरकारको नेतृत्व देउवाले गर्नेछन्।एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ सरकारमा उपप्रधानमन्त्री नराख्नेमा सहमत छन्।

उपप्रधानमन्त्री भइसकेका व्यक्तिलाई मन्त्रिपरिषदमा समेट्दा दोस्रो तहका नेताहरूको लर्को देखिने भएकाले पनि दुवै नेता अनिच्छुक देखिएका छन्। एमालेले प्रधानमन्त्रीसहित ९ मन्त्रालय र कांग्रेसले १० मन्त्रालय पाउनेगरी भागबन्डा भइसकेको छ।

लेले सरकारमा काम गर्न सक्ने योग्य र सक्षम व्यक्तिलाई सरकारमा पठाउने जनाएको छ। मन्त्रीका आकांक्षी पार्टीभित्र धेरै देखिएको भन्दै त्यसको अन्तिम टुंगो लगाउने काम एमालेमा ओलीले र कांग्रेसमा देउवाले गर्ने बताइएको छ। सरकारलाई समर्थन गर्ने साना दललाई समेत सरकारमा सहभागी गराउने बताइएको छ।

दुवै दलका बीचमा भएको छलफलनुसार अर्थ एमालेले र गृह कांग्रेसले लिने लगभग टुंगो लागिसकेको छ। ‘प्रधानमन्त्रीसँग अर्थ मन्त्रालय रहन्छ, कांग्रेसले गृह मन्त्रालय लिन्छ,’ छलफलमा सहभागी एक नेताले भने, ‘अहिलेसम्म परराष्ट्र पनि कांग्रेसले लिने कुरो छ।’

हाल संघीय सरकारमा २१ वटा मन्त्रालय रहेका छन्। संविधानले प्रधानमन्त्रीसहित बढीमा २५ जनासम्मको मात्रै मन्त्रिपरिषद् हुने निश्चित गरेको छ। नयाँ सरकारमा प्रधानमन्त्री, २१ जना मन्त्री र तीन राज्यमन्त्री रहने निश्चित छ।

हालसम्म एमालेले अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्रालय लिने एवं कांग्रेसले गृह र परराष्ट्र लिने निश्चित भइसकेको छ । एमालेले रक्षा, कानुन, स्वास्थ्य, भौतिक मन्त्रालयमा पनि दाबी गरेको छ। भौतिकमा कांग्रेसको पनि दाबी छ। भौतिक पूर्वाधार एमालेले लिने र सहरी विकास मन्त्रालय कांग्रेसले लिने धेरै सम्भावना छ।

एमालेबाट अर्थमन्त्री विष्णु पौडेलको चर्चा छ। यद्यपि, उपप्रधानमन्त्री नराखिने अवस्थामा पौडेल अर्थमन्त्री नबनेर योगेश भट्टराई वा पदम गिरी अर्थमन्त्री बन्नसक्ने सम्भावना रहेको छ।

कांग्रेसबाट परराष्ट्रमन्त्रीमा डा. आरजु देउवा राणाको सम्भावना बढी छ। गृहमन्त्रीमा रमेश लेखकको चर्चा बढी भए पनि सहमहामन्त्री किशोरसिंह राठौरले आफूलाई गृहमन्त्री बनाउन सभापति देउवालाई दबाब दिइरहेका छन्।

अहिलेसम्म कांग्रेस र एमालेबीच मन्त्रालय भागबण्डा टुंगिसकेको छैन। यद्यपि, जुनसुकै भए पनि मन्त्री बन्न प्रयास गर्ने कांग्रेस सांसदहरूको सूची लामो छ ।

सभापति शेरबहादुर देउवाले चार महिना अघिसम्म मन्त्री रहेकाहरूलाई अबको सरकारमा अवसर नदिने स्पष्ट छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा दुवैले अवसर पाउँदा सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्ने सम्भावना छ।

सहमहामन्त्री किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार पनि मन्त्रीका आकांक्षी छन्। उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गर्नसक्ने सम्भावित नेताहरूमा राष्ट्रियसभा संसदीय दलका नेता कृष्ण सिटौला, पूर्व-उपसभापतिद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधि, पूर्वमहामन्त्री डा.शशांक कोइरालालगायत छन्।

मन्त्रीका लागि सभापति देउवानिकट सांसदहरू डा. आरजू राणा, विनोद चौधरी, ईश्वरी न्यौपाने, अजय चौरसिया, उदयशमशेर राणा, शंकर भण्डारी, रामहरि खतिवडा, श्याम घिमिरे, दिनेश यादवलगायत मन्त्रीका आकांक्षी छन्।

तपाईको प्रतिक्रिया