मोरङमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–१० डाँस खोलामा बिहीबार साँझ दुर्घटना भएको हो । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ क ५०६३ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश–१–०२–०४० प ७८७५ नम्बरको स्कुटरलाई साँझ ६:१० बजेतिर ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट स्कुटर चालक इलामको चुलाचुली गाउँपालिका–५ का ३३ वर्षीय सुभाष राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका राईको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा राति ८ बजेतिर मृत्यु भएको हो ।

दुर्घटनालगत्तै फरार बनेका टिपर चालकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । चालक रंगेली नगरपालिका–२ का ३५ वर्षीय अमृतलाल उराउलाई पक्राउ गरिएको जानकारी बस्नेतले दिए ।

टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया