हनी ट्रयापमा पारी एक करोड बार्गेनिङ गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-७ घर भई काठमाडौंको बौद्ध बस्ने २० वर्षीया सिर्जना तामाङ र जुगल गाउँपालिका-५ घर भई काठमाडौंको मुलपानी बस्ने २९ वर्षीय लिला बहादुर तामाङ रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लिलाले पीडितको फेसबुक आईडी सिर्जनाको ह्वाट्सएपमा पठाई साथी बन्न लगाएका थिए। फेसबुक म्यासेन्जरबाट सिर्जनाले पीडितसँग कुरा गरी भेट्नका लागि आफ्नो कोठामा बोलाएकी थिइन्।

पीडित कोठामा आउन मन्जुर भएपछि लिलाले आफ्नो मोबाइलबाट पीडितसँगको भिडियो बनाउन लगाएका थिए। लिलाले दिएको मोबाइलबाट सिर्जनाले आफ्नो र पीडितको अश्लील भिडियो बनाएर मोबाइल सौरभलाई फिर्ता गरेकी थिइन्।

उक्त भिडियो सिर्जना र लिलाले पीडितलाई पठाई पीडितसँग सुरुमा १ करोडको बार्गेनिङ गरेको र पछि १५ लाखमा कुरा मिलाएको अनुसन्धानबाट खुलेको सूचना अधिकारी काजी कुमार आचार्यले बताए।

कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले बौद्धबाट पक्राउ गरी आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ।

तपाईको प्रतिक्रिया