नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोसँगै त्रिशुलीमा बस खस्दा दुईजना स्वास्थ्यकर्मी पनि हराइरहेको खुलेको छ।

पहिरोसँगै त्रिशुलीमा दुई वटा बस खसेको थियो। त्रिशुलीमा खसेको बस र त्यसमा सवार यात्रुहरु भेटिएका छैनन्। बसमा सवारमध्ये तीन जना भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन्।

दुईवटा बसमध्ये वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बसमा सवार दुई जना स्वास्थ्यकर्मी समेत रहेको पर्साको सखुवा प्रसौनी गाउँपालिकाका सूचना अधिकारी अरविन्द ठाकुरले स्वास्थ्यखबरलाई जानकारी दिए।

उनका अनुसार गाउँपालिकाको वडा नम्बर ५ मा रहेको महुवन स्वास्थ्य चौकीमा कार्यरत दुईजना स्वास्थ्यकर्मी पनि त्रिशुलीमा हराइरहेको बसमा सवार थिए। गाउँपालिकाको महुवन स्वास्थ्य चौकीमा कार्यरत रेडियोग्राफर सृष्टि यादव र ल्याब असिस्टेन्ट रैफुल अन्सारी हराइरहेको बसमा सवार थिए।अन्सारी सखुवा प्रसौनी गाउँपालिकाका हुन् भने यादव कलैया उपमहानगरपालिकाकी  हुन्।

सूचना अधिकारी ठाकुरका अनुसार दुवैजना महुवन स्वास्थ्यचौकीमा करार सेवामा कार्यरत स्वास्थ्यकर्मी हुन्। उनीहरु स्वास्थ्यचौकीमा बिदा लिएर लोकसेवाको परीक्षा दिन काठमाडौं आएका थिए।

‘दुवैजनाहाम्रो गाउँपालिकाको अस्पतालमा कार्यररत हुनुहुन्थ्यो,’ गाउँपालिकाका सूचना अधिकारी ठाकुरले भने, ‘सेन्टरबाट हुने लोकसेवा परीक्षा दिन उहाँहरु काठमाडौं जाँदै हुनुहुन्थ्यो।’

वीरगञ्जबाट काठमाण्डौतर्फ आउँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एन्जल डिलक्सको यात्रुवाहक बस र काठमाण्डौबाट गौरतर्फ जांदै गरेको गणपति डिलक्सको बस पहिरोसँगै त्रिशुलीमा खसेको आशंका गरिएको छ।

दुवै बसमा सवार ६५ जनाको अवस्था अज्ञात छ। तीन यात्रु भने हामफालेर बाँच्न सफल भएकाे प्रहरीले जनाएको छ।

सिमलतालमा पहिरोले बगाएका दुई बस र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरसहितको टोलीले खोजी सुरु गरेको हो। शिक्षालयबाट ७ गोताखोरसहित २५ जनाको टोली परिचालन गरिएको हो।

तपाईको प्रतिक्रिया