दाँतलाई स्वास्थ्य राख्नका लागि सबैभन्दा ठूलो भूमिका ब्रस र प्रयोग गरिने टुथपेस्टको हुने गर्छ । विराटनगरको नोबेल अस्पतालकी दन्त चिकित्सक डा. निधि तापरियाको अनुसार विज्ञापनमा देखाएका राम्रा ब्रस तथा पेस्टले माझ्दैमा दाँतमा किरा नलाग्ने भन्ने हुँदैन । खाना दाँतमा रही रहँदा कुहिएर ब्याक्टेरिया बस्ने हुँदा खाना खाएपछि दाँत नमाझ्दा र कुल्ला नगर्दा खानेकुरा मुखमा कुहिएर किटाणुहरुले अम्लीय पदार्थहरु निकाल्छन् । उक्त पदार्थले दाँतमा आक्रमण गरेर दाँतमा किरा लाग्ने, गिजाको रोग ल्याउने गर्छ ।

स्वस्थ गिजा र दाँतका लागि राम्रो र नरम ब्रसको प्रयोग गर्नुपर्छ । फ्लोराइड युक्त टुथपेस्टको प्रयोग गर्नु पर्छ । दाँत माझेर जति पटक खाए पनि हरेक पटक दाँत कुल्ला गर्न जरुरी हुन्छ । ३ देखि ६ वर्षको बच्चाहरुलाई केराउको दाना भन्दा सानो मात्रामा र ६ वर्ष भन्दा माथिहरूका लागि केराउ जतिको मात्रा मात्रै प्रयोग गर्नु पर्छ । पेस्ट लगाएपछि ३५ ४० सेकेण्ड देखि दुई मिनेटसम्म तलमाथि गरेर मुखको हरेक कुनामा ब्रस पुग्र्ने गरि दाँतलाई सफा गर्नु पर्छ । ब्रसलाई तीन देखि चार महिनामा फेर्नु पर्छ ।

ब्रसको साथ साथै डेन्टल फ्लसको प्रयोग गर्नु पर्छ । ब्रसले मात्र दाँतलाई पूर्ण रुपले सफा गर्न नसक्ने हुदा दाँतमा अड्केको खानेकुरा तथा फोहोर हटाउन मद्दत गर्छ । भिटामिन सि र भिटामिन डी दाँत र गिजालाई स्वस्थ राख्नका लागि फाइदाजनक हुन्छ । त्यसैले हरियो सागपात र फलफूल दुवै दाँतको स्वास्थताका लागि जरुरी हुन्छ ।

गुलियो खाने कुराहरू, बढी सोडा, कोल्ड ड्रिंकजस्ता पेय पदार्थ, दाँतमा टाँसिने पदार्थ जस्तै, क्यान्डी, चिप्स, क्रिम, बिस्कुट, पिज्जा, पस्ता जस्ता जंक फुड खानाले दाँतको इनामेलमा टाँसिएर दाँतलाई नोक्सानी पुर्‍याउँनुका साथै दाँतमा झन्झनाहट पैदा गराउछ । चुरोट, बिडी, सुर्तीजस्ता पदार्थले गिजामा हानी गरेर दाँत पहेलो, कालो बनाउनुका साथै मुखको क्यान्सर समेत निम्त्याउने हुदा यस्ता पदार्थको सेवन गर्नु हुँदैन् ।

तपाईको प्रतिक्रिया