झापाको बिर्तामोडस्थित नमुना स्कुल देवी माध्यमिक विद्यालयका सुरक्षा गार्डलाई पक्राउ गरिएको छ । ९ वर्षीया बालिकामाथि यौन दुर्ववहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार विद्यालयका सुरक्षा गार्ड करिब ७० वर्षीय तेजबहादुर पान्डेलाई पक्राउ गरिएको हो । उनले कराते खेल्न आएकी बिर्तामोड ६ की ९ वर्षीया बालिकालाई विद्यालय परिसरमै यौनजन्य हिंसा गरेका थिए ।
बालिकाका परिवारले प्रहरीमा जाहेरी दिएका आधारमा उनलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
यसैगरी भद्रपुर नगरपालिका ५ बस्ने २४ वर्षीय जीवन साहलाई आइतबार पक्राउ गरिएको छ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
साहले ती किशोरीलाई गत असार २८ गते दिउँसो भद्रपुर नगरपालिका ७ स्थित मौसम होटल एण्ड लजमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया