विराटनगर महानगरपालिका क्षेत्रभित्रका १५ विद्यालयले कक्षा ११ को भर्ना बन्द गरेका छन् । उचित व्यवस्थापन अभाव र विद्यार्थी अपुग भएका कारण कक्षा ११ र १२ को पढाई बन्द गरेका हुन् ।

महानगरपालिकाको शैक्षिक महाशाखाकाको तथ्याङक अनुसार ११ र १२ कक्षा सञ्चालनको अनुमति प्राप्त ५० विद्यालयमध्ये १५ विद्यालयहरूले तत्काल विद्यार्थी नभएको जानकारी दिएका छन् । महानगरपालिका शैक्षिक महाशाखाका अधिकृत कृष्ण भट्टराईका अनुसार कक्षा ११ र १२ सम्म सञ्चालन अनुमति लिएपनि विद्यार्थी अभावका कारण भर्ना नलिएका विद्यालयले चाहेको बेला भने पुनः शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउने छन् ।

कक्षा ११ र १२ बन्द भएका विद्यालयहरूमा देवकोटा मेमोरियल माध्यमिक विद्यालय, कोशी क्याम्पस, श्रृजना ज्ञान कुञ्ज, स्टार बो.मा।.वि., मोर्टस मेमोरियल से.ई मा.वि., श्री राम मेमोरीयल मा.वि., होल्यान्ड से.बो.मा.वि., युरोकिड्स नेपाल मा.वि., दिल्ली पब्लिक मा.वि., जेम्स इन्टरनेशनल सेकेन्डरी बोर्डिङ स्कुल, माल्विका ई.बो.स्कुल, पेरागन एकेडेमी मा.वि., अर्पण इ. स्कुल, एजलिया सेकेन्डरी बो स्कुल, र ग्रेडेड इङ्लिस मेडियम सेकेन्डरी स्कुल रहेका छन्।

विराटनगरको यूरोकिड्न र दिल्ली पब्लिकले कुनै बेला ए लेवलको शिक्षा प्रदान गर्ने भन्दै कार्यक्रम सञ्चालन गरेका थिए । तर, विद्यार्थी नगएपछि अहिले बन्द गरेका छन् ।

पछिल्लो समय विराटनगरका नाम चलेका विद्यालयमा समेत विद्यार्थी संख्या क्रमशः घट्दो क्रममा रहेका छन् । ग्रामिण क्षेत्रमा खुलेका प्लस टु, कक्षा १–१२ लाई माध्यमिक शिक्षाको मान्यता लगायतका कारण संस्थागत विद्यालयहरुमा विद्यार्थी घट्दै गएका छन् । कक्षा ११ र १२ अध्ययन सकाएपछि पढ्न जाने र काम गर्न चाहने विदेशी मनस्थितिका कारण स्नातक तह सञ्चालक गर्ने क्याम्पसहरुमा समेत अहिले विद्यार्थी घट्दो क्रममा रहेका छन् ।

तपाईको प्रतिक्रिया