बारा । बाराको निजगढमा गुडिरहेको मोटरसाइकलमा रुखको हाँगा भाँचिएर बजारिंदा एक महिलाको घटनास्थलमै ज्यान गएको छ । निजगढ नगरपालिका– ११ मा भुरकोट जातको रुखको हाँगा भाँचिँदा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको हो । अन्य दुई जना घाइते भएका छन् ।

मंगलबार दिउँसो करिब ३ बजे निजगढ नगरपालिका– १० स्थित लालगाउँबाट रतनपुर जाँदै गरेको प्र२–०२–०१७ प ९६३५ नम्बरको मोटरसाइकलमाथि रुखको हाँगा खस्दा निजगढ नगरपालिका– ११ का सुमन बम्जनकी श्रीमती २२ वर्षीया अस्मिता मोक्तानको घटनास्थलमै मृत्यु भएको हो ।

रुखको हाँगा टाउकोमा बज्रँदा चोटका कारण अस्मिताको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुसवाहले जानकारी दिए । मोटरसाइकलमा सवार निजगढ नगरपालिका– ११ निवासी १८ वर्षीय सन्देश बम्जन र २२ वर्षीया बिनिता ब्लोन घाइते भएका छन् । उनीहरू निजगढस्थित सामुदायिक प्रसूतिगृह अस्पताल र मुहमदिन मेडिकलमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया