काठमाडौँ । आफूलाई नसोधी विदेश जान लागेको भन्दै एक पूर्व माओवादी बाल सैन्यलाई विमानस्थलबाटै फर्काउने सरकारी निर्णयलाई सर्वोच्च अदालतले बिहीबार खारेज गरिदिएको छ ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलाशले निर्वाध हिँडडुल गर्न पाउनु व्यक्तीको मौलिक हक भएकाले कहिँ जान सरकारलाई सोधिरहन नपर्ने भन्दै ती बाल सैन्यलाई सरकारको निर्णय उल्ट्याएको हो ।

राष्ट्र संघको नागरिक तथा राजनीतिक अधिकारसंबन्धी अन्तराष्ट्रिय महासन्धी तथा नेपालको संविधानले समेत सुनिश्चित गरेको स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउने अधिकार उल्लंघन हुने गरी कुनै काम नगर्न समेत सर्वोच्चले नेपाल सरकारलाई आदेश गरेको छ । गृह मन्त्रालयको आदेशमा अध्यागमन विभागले २०७५ भदौ ८ गते थाइल्यान्डको ब्याङ्कक जान लागेका पूर्व बालसैन्य लेलिन विष्टलाई ‘अनुमती नलिएको’ भन्दै देश छाड्न प्रतिबन्ध लगाएको थियो । उनी द्वन्द्वले बालबालिकामा परेको असरसम्बन्धी कार्यक्रममा सहभागी हुन जान लागेका थिए । आफूलाई फर्काइएलगत्तै विष्टले सर्वोच्चमा रिट दायर गरेका थिए ।

आफूमाथि विदेश जान लगाइएको प्रतिबन्ध खारेज हुनु पर्ने उनको माग रिटमा १४ महिनापछि अन्तिम आदेश गर्दै सर्वोच्चले गृह मन्त्रालयले आदेश र अध्यागमनको निर्णय संविधान तथा राष्ट्रसंघीय महासन्धीको विरुद्ध भन्दै बदर गरेको हो । ‘आफूले चाहेको ठाउँमा स्वतन्त्रतापूर्वक जान पाउने हरेक नागरिकको संविधान प्रदत्त अधिकारलाई सर्वोच्चको यो आदेशले उल्लंघन हुनबाट रोक लगाएको छ’ विष्टका पक्षमा वहस गरेका मानवअधिकारवादी अधिवक्ता ओमप्रकाश अर्यालले भने, ‘त्यसका साथै, अब फेरि कसैलाई नसोधी विदेश जान प्रतिबन्ध लगाउन पनि सर्वोच्चले सरकारलाई रोक लगाएको छ ।’

आदेश गर्नु अघि सर्वोच्चले अध्यागमन विभाग र गृहमन्त्रालयलाई बाल सैन्य लेनिनमाथि प्रतिबन्ध लगाउनुको कारण सोधेको थियो । गृह मन्त्रालयले बाल सैन्य संवेदनशील मामिला भएकाले यसबारे विदेशमा वकालत गर्न सरकारलाई नसोधी जान नहुने भएकाले विष्टलाई बैंकक जान नदिइएको जवाफ लिखित रुपमा पेश गरेको थियो । अध्यागमन विभागले चाहिँ ‘सम्बन्धित निकायको अनुमती नलिई विदेश जान लागेकाले’ उनलाई विमानस्थलबाटै फर्काउनु परेको जवाफ फिराएको थियो । गृह मन्त्रालय र अध्यागमन दुबैको जवाफ संविधानले प्रदान गरेको अधिकारसँग बाझिने ठहर गर्दै सर्वोच्चले विष्टलाई विदेश जान रोक लगाउने सरकारको निर्णयलाई खारेज गरिदएको हो । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया