काठमाडौँ । अमेरिकी सेनाले इस्लामिक स्टेटका नाइके इस्लामिक स्टेट ९आर्ईएस० प्रमुख अबु बकर अल–बगदादीलाई मार्न आफूले गरेको कारबाहीको दृश्य सार्वजनिक गरेको छ । सेनाले सार्वजनिक गरेको भिडियोमा स्थल कारबाहीका लागि बगदादी लुकेर बसेको स्थानतर्फ जानुअघि अमेरिकी हवाई सेनाले जमिनमा रहेका लडाकुलाई लक्षित गरी आक्रमण गरको देखिन्छ। सेनाहरू जमिनमा उत्रनुअघि ज्यान जोगाउन सुरुङभित्र पसेका बगदादीले भेस्ट बम विस्फोट गराई आत्महत्या गरेका थिए।

अमेरिकी केन्द्रीय कमान्डर जेनरल केनेथ म्याक्केन्जीले बगदादीसँगै पहिले भनिएजस्तै तीन नभई दुई बालबालिकाको मात्र ज्यान गएको बताए। राष्ट्रपति डोनाल्ड ट्रम्पले भने जस्तो त्रासले चिच्याहट गर्दै मरेको म्याक्केन्जीले पुष्टि भने गर्न सकेनन्। ‘दुई बालबालिकासहित उनी सुरुङमा पसे। आफ्ना सहयोगी माथि नै भएका बेला आत्मघाती विस्फोट गराए। यसैबाट बगदादी कस्ता मानिस थिए भन्ने तपाईं थाहा पाउन सक्नुहुन्छ,’ म्याक्केन्जीले बताए। बगदादीसँगै आत्मघाती पोसाक लगाएका ४ महिला तथा एक पुरुषको पनि मृत्यु भएको म्याक्केन्जीले बताए।

अमेरिकी हेलिकप्टरमाथि गोली चलाएपछि केही लडाकुलाई पनि अमेरिकी सेनाले मारेको उनको दाबी छ। म्याक्केन्जीका अनुसार कारबाहीका क्रममा गैरसैनिकको मृत्यु नहोस् भनेर निकै ध्यान दिइएको थियो। म्याक्केन्जीका अनुसार डीएनए टेस्टपछि बगदादीको शव पहिचान गरिएको हो। उनको डीएनएको नमुना सन् २००४ मा इराकी जेलमा रहँदा लिइएको थियो। उनका अनुसार ‘सशस्त्र युद्धको कानुनअनुसार बगदादीको शव समुद्रमा व्यवस्थापन गरिएको’ छ। आईएस लडाकुले प्रतिशोधको भावनाले आक्रमण गर्न सक्नेबारे आफूहरू सचेत रहेको म्याक्केन्जीको भनाइ छ।

आईएसमा नेतृत्वको खोजी

बगदादीको मृत्युपछि संगठनले नयाँ नेतृत्वको खोजी सुरु गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार सिरियामा अमेरिकी विशेष सुरक्षा कारबाहीका क्रममा बगदादीले आत्महत्या गरेको बताएका थिए। ट्रम्पले ‘उत्तर–पश्चिम सिरियामा अमेरिकी स्पेसल फोर्सले गरेको कारबाहीमा संसारकै कुख्यात आतंकवादी’ को मृत्यु भएको जनाएका थिए।

विद्रोहीहरूको समूहबाट गठन गरिएको खतरनाक र हिंस्रक चरमपन्थी संगठन इस्लामिक स्टेटले अफ्रिकादेखि अस्ट्रेलियासम्म संगठन विस्तार गरिरहेको थियो तर प्रमुखलाई गुमाएसँगै नयाँ नेतृत्वको खोजी गरिरहेको कपितयको दाबी छ। यद्यपि, संगठनले आफ्ना समर्थकलाई न कुनै कमजोरी बताउन चाहेको छ न त बगदादीको हत्यापछि कुनै प्रकारको असन्तुलनको संकेत सार्वजनिक गर्न चाहेको छ।

संगठनका उच्च नेता रहेको सुरा कमिटी ९सबै पुरुष० ले पहिले नै संगठन प्रमुखका लागि उम्मेदवारीमाथि विचार गरिसकेको अड्कल गरिँदै छ। यो भूमिकाका लागि उम्मेदवारमा जुन योग्यताको आवश्यकता निर्धारण गरिएको छ, त्यो हो आईएसप्रति पूर्ण निष्ठा, कुशल रणनीति बनाउने क्षमता, कुनै प्रकारको दाग नलागेको धार्मिक पहिचान, युद्ध लड्ने अनुभव र कठोर सजाय दिनेका लागि चर्चित व्यक्ति।

इस्लामिक स्टेटमा पूर्वइराकी राष्ट्रपति सद्दाम हुसेनका सेना र खुफियातन्त्रका पूर्वसदस्यसँगै अति रूढिवादी जेहादी दुवै सहभागी थिए। बाथिस्ट भनिने समूहले हतियार, गोला–बारुद, खुफिया जानकारी दिन्छन् र योजना तयार गर्छन्। बगदादीपछि आउने नेतामा पनि दुवै समूहसँग निरन्तर सम्पर्कमा रहने व्यक्ति हुनुपर्ने बताइएको छ। यद्यपि, आईएसलाई केही समय बगदादीको अभाव खड्किने निश्चितप्रायः छ। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया