काठमाडौं / नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले फेरि एक पटक नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार तोलाको मूल्य दुई हजार रुपैयाँले उकालो लाग्दै २ लाख ७ हजार ९०० रुपैयाँ पुगेको छ । मंगलबार मात्र सुनको मूल्य २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएर रेकर्ड बनाएको थियो। त्यो रेकर्ड आज पुनः भङ्ग भएको छ ।

सुनको मूल्य आइतबारदेखि नै लगातार उकालो लागिरहेको छ। आइतबार सुन तोलाको २ लाख ३ हजार ६०० मा कारोबार भएको थियो भने, सोमबार तोलाको मूल्य २ लाख ५ हजार ३०० पुगेको थियो । तीन दिनभित्रै तोलामा झण्डै ४ हजार ३०० रुपैयाँले मूल्य वृद्धिले आम सर्वसाधारणदेखि व्यवसायीसमेत चकित परेका छन् ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य वृद्धिलाई नेपाली बजारमा देखिएको तीव्र उकालोको प्रमुख कारणका रूपमा औंल्याएको छ । अमेरिका लगायतका प्रमुख अर्थतन्त्रहरूमा ब्याजदर घट्ने आशंका, चिनियाँ बजारमा लगानीकर्ताको पुनः आकर्षण, र विश्व बजारमा राजनीतिक अस्थिरताको चपेटामा सुरक्षित लगानीका रूपमा सुनप्रति आकर्षण बढ्दै गएकाले अन्तर्राष्ट्रिय बजारमा समेत सुनको भाउ उच्च विन्दुतर्फ उक्लिएको हो ।

चाँदीको मूल्यमा भने सुनको जस्तो तीव्र उकालो देखिएको छैन । मंगलबार तोलाको २ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच रुपैयाँले घट्दै २ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।

विगत केही महिनादेखि चाँदीको मूल्यमा उतारचढाव जारी छ। तर सुनको तुलनामा चाँदीको मूल्य स्थिरता देखिँदै आएको छ।

सुनको मूल्य दैनिक रूपमा नयाँ उचाइमा पुग्दा लगानीकर्ताहरू अवसर र जोखिमबीचको दोधारमा परेका छन् । कतिपयले हाललाई सुनमा लगानी गर्नु जोखिमपूर्ण ठानिरहेका छन् भने, केही लगानीकर्ताले अझै मूल्य बढ्ने अपेक्षा गर्दै सुन खरिद गरिरहेका छन् ।

अर्थविश्लेषकहरूका अनुसार, सुनको मूल्य अझै केही दिन उच्च रहन सक्ने सम्भावना भए तापनि अन्तर्राष्ट्रिय राजनीतिक र आर्थिक परिस्थिति बदलिएसँगै पुनः समायोजन पनि हुनसक्नेछ ।

तपाईको प्रतिक्रिया