सुनसरी — वराहक्षेत्र नगरपालिका–८ स्थित सडकछेउमा आज बिहान बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेपछि स्थानीय र प्रहरीको सहयोगमा समयमै उद्धार गरिएको छ। नवजातको पहिचान अहिलेसम्म खुलेको छैन।

स्थानीयवासीले बिहान सडकछेउमा रोइरहेको अवस्थामा शिशु भेटिएको जानकारी इलाका प्रहरी कार्यालय चक्रघट्टीलाई दिएका थिए। सूचना प्राप्त भएपछि कार्यालय प्रमुख दिवस कुँवरको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।

प्रहरीले शिशुलाई सुरक्षित रूपमा उद्धार गरी उपचारका लागि नगर अस्पताल चक्रघट्टीमा ल्याएको छ। अस्पतालका चिकित्सकका अनुसार शिशुको अवस्था अहिले सामान्य रहेको छ र आवश्यक उपचार तथा हेरचाह भइरहेको छ।

यसबारे प्रहरीका अनुसार शिशु कसले छाडेर गएको हो भन्नेबारे अनुसन्धान अघि बढाइएको छ। प्रहरीले स्थानीय क्षेत्रको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीका बयान तथा सम्भावित सुराकीका आधारमा घटनाको वास्तविकता पत्ता लगाउने प्रयास जारी रहेको जनाएको छ।

नवजात शिशु जीवितै उद्धार भएको घटनाले स्थानीय क्षेत्रमा स्तब्धता र संवेदनशीलता फैलिएको छ।

तपाईको प्रतिक्रिया