विराटनगर । विराटनगरको रंगेली रोडस्थित मेरिल्याण्ड कलेजका विद्यार्थी रजनीश न्यौपानेले नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयद्वारा आयोजित प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन्।

बीबीएस दोस्रो वर्षमा अध्ययनरत न्यौपानेले प्रदेशभरका प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट प्रस्तुति दिएका हुन्। प्रतियोगितामा प्रथम स्थान हासिल गरेबापत उनले नगद ३० हजार रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

विद्यार्थीको उल्लेखनीय सफलताप्रति मेरिल्याण्ड कलेज परिवारले खुसी व्यक्त गरेको छ। कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले रजनीशको उपलब्धिले सम्पूर्ण कलेज परिवारलाई गौरवान्वित बनाएको बताउँदै उनको मेहनत, लगनशीलता र सिर्जनशील सोचको प्रशंसा गरे।

ढकालले भने, “प्रदेश स्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गर्नु केवल रजनीशको व्यक्तिगत उपलब्धि मात्र होइन, यो सम्पूर्ण मेरिल्याण्ड परिवारका लागि गर्वको विषय हो। उहाँको निरन्तर मेहनत र अध्ययनप्रतिको समर्पणले यो सफलता सम्भव भएको हो। आगामी दिनमा पनि शिक्षा, साहित्य तथा नेतृत्वका क्षेत्रमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्दै अगाडि बढ्न सकून् भन्ने शुभकामना व्यक्त गर्दछु।”

कलेजका अनुसार मेरिल्याण्डमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक उत्कृष्टतासँगै विभिन्न अतिरिक्त तथा सिर्जनात्मक गतिविधिमा समेत निरन्तर सफलता हासिल गर्दै आएका छन्। रजनीशको यो उपलब्धिले विद्यार्थीको क्षमता, परिश्रम र कलेजले प्रदान गर्दै आएको गुणस्तरीय शैक्षिक वातावरणलाई थप पुष्टि गरेको कलेजको विश्वास छ।

तपाईको प्रतिक्रिया