काठमाडौँ । पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको दैलेखको श्रीस्थान र नाभिस्थान लगायतका क्षेत्रहरुमा चिनियाँ प्राविधिक टोलीले अन्वेषणको काम सुरु गरेसँगै स्थानीय स्तरमा रोजगारी खुलेको छ ।

दैलेखको डुँगेश्वर गाउँपालिका वडा १ को चुप्रामा अन्वेषण र उत्खननको समय अवधिभर बस्नका लागि सर्भे बेस क्याम्प निर्माण पश्चात् विभिन्न ९ पदका लागि कर्मचारी माग गरेको छ । अन्वेषणका लागि कामदार ५० जना, ड्रिलर १० जना, सुटर पाँच जना, ट्राबल सुटर पाँच जना, जिपिएस अप्रेटर पाँच जना, सर्भेयर ६ जना, ड्रिलिङ फोरम्यान एकजना र लाइन फोरम्यान एकजना गरी ८३ जना कर्मचारी माग गरेको हो ।

नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणको पहिलो कार्य साइस्मिक कार्य गर्न ८३ जना कर्मचारी मागका लागि काठमाडौंमा रहेको त्रिबेणी ओभरसिज प्रालिले अनुमति पाएको छ । प्रालिका म्यानेजर सूर्यमणि लामिछानेका अनुसार चिनियाँ प्राविधिक टोलीले अन्वेषणका लागि कर्मचारी माग भए अनुसार सूचना स्थानीय पत्रिकामा प्रकाशन गरिएको बताउनुभयो । उहाँहरुले कामदार र अन्य विभिन्न प्राविधिक पदहरुका लागि दर्खास्त आइरहेकाले चाँडै सबै पदका कर्मचारीको टुँगो लगाउने जानकारी दिनुभयो ।

खानी तथा भूर्गभ विभागका भूर्गभविद दिनेश त्रिपाठीका अनुसार प्राविधिक टोलीले साइस्मिक सर्भे जिओलोजिकल सर्भे र म्यागनेट सर्भे लगायतका कामहरुका लागि चिनियाँको प्राविधिक टोलीले कर्मचारी मागेको बताउनुभयो ।

अहिले रोजगारी सिर्र्जना भएको र अन्वेषण पश्चात् पेट्रोलियम पदार्थको परिणाम थाहा पाएपछि जिल्लाका धेरै नागरिकहरुले रोजगारी पाउने उहाँको दाबी छ । उहाँले स्थानीयलाई रोजगारी सिर्जना भएसँगै दैलेखका नागरिकहरुमा उत्साह थपिएको बताउनुभयो । पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन्का लागि स्थानीय सरकार र जनता दुबै उत्साहित भएका कारण प्राविधिक टोलीलाई समेत सहजता भएको उहाँले जनाउनुभयो ।

जिल्लामा बढ्यो चहलपहल

दैलेखमा अन्वेषणको काम सुरु भएसँगै जिल्लामा चहलपहल बढेको छ । मुलुक संघीयतामा गए पश्चात् सुनसान भएको दैलेख सदरमुकाममा चहलपहल बढेको छ । दैलेखको नारायण नगरपालिका वडा ६ मा चिनियाँ जिओलोजिकल सर्भेको कार्यालय स्थापना भएपछि अहिले जिल्लाको माहोल नै फरक भएको छ ।

प्राविधिक टोलीलाई विभिन्न स्थानमा अन्वेषणका गर्न लानको लागि दैनिक दशवटा गाडी ओहोरदोहोर गरेपछि चहलपहल बढेको स्थानीय व्यापारी ममता थापाले बताउनुभयो । अाजकाे गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया