नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताउनुभएको छ । उहाँले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पार्नुभयो । प्रेस सङ्गठनले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यहाँको राजनीतिक, शैक्षिक, स्वास्थ्य र पूर्वाधारमा भइरहेको विकासले दाङलाई नेपालकै केन्द्र बन्न आधार तयार पारेको जिकिर गर्नुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको भूमिका अग्रणी रहेकोे छ । यही कुरालाई मध्यनजर गर्दै प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुने ठहर गर्दै दाङलाई नै प्रदेश ५ को राजधानी बनाउने तयारीमा छौं ।’

मुलुकका हरेक आन्दोलनमा दाङले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यो परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला र प्रदेश भएको नाताले आउने दिनमा यो प्रदेशको केन्द्र निर्माणमा पनि दाङ जिल्ला एउटा महत्वपूर्ण जिल्लाको रुपमा उभिएर आउँछ भन्ने मेरो विश्वास छ ।’
दाङलाई नै प्रदेश ५ को केन्द्र बनाउन प्रधानमन्त्री केपी शर्मा ओली पनि सकारात्मक रहेको उहाँको भनाइ छ । दाङ पुग्दा आफूलाई न्यायो अनुभूति हुने गरेको भन्दै अध्यक्ष प्रचण्डले विकासमा दाङले फड्को मारेकोमा प्रसन्नता व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले सरकारले केही दिनअघि गरेको प्रदेश प्रमुखको नयाँ नियुक्तिलाई समेत सामान्य भएको अथ्र्याउनुभयो । “सरकारले लचिलो भएर मात्रै उहाँहरुलाई दुई वर्ष काम गर्न दिएको हो, होइन भने पहिले नै पदमुक्त गर्न सकिन्थ्यो, सबैसँग मिलेर जाऊँ भनेर केही समय काम गर्न दिएको हो ।”

उहाँले उपनिर्वाचन सफल बनाउन नेता÷कार्यकर्तालाई लाग्न अनुरोध गर्न आफू यहाँ आइपुगेको बताउनुभयो । “उपनिर्वाचनतिर यतिबेला सरकार केन्द्रित छ”, उहाँले भन्नेुभयो, “सबै मिलेर यसलाई सफल बनाउनुपर्छ ।” नेकपा दाङले आज तुलसीपुरमा आयोजना गर्ने बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन उहाँ यहाँ आउनुभएको हो ।

नेकपाका जिल्ला इञ्चार्ज जीवन गौतमका अनुसार प्रचण्डसँगै पूर्वसभामुख एवं पार्टीकी नेतृ ओनसरी घर्ती, पार्टी प्रदेश नं ५ का मुख्यमन्त्री शङकर पोखरेल पनि दाङ आइपुग्नुभएको छ । नेकपाले पार्टी एकतापछि अध्यक्षको सहभागितामा पहिलोपटक दाङमा बृहत कार्यकर्ता प्रशिक्षण आयोजना गर्नलागेको हो । प्रशिक्षण कार्यक्रम पार्टी एकता, पार्टीको नीति, विचार, आसन्न उपनिर्वाचनलगायतका विषयमा केन्द्रित हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया