भारतले नेपालको कालापानी क्षेत्रमा दिनहुँजसो हेलिकप्टरबाटै निरीक्षण गर्छ । भारतीय वायुसेना र उच्च सैन्य अधिकारीहरु यो अतिक्रमित क्षेत्र नियमित पुग्ने गरेका छन् । यतिमात्रै होइन नेपाली भूमि अतिक्रमण गरेर भारतीय पक्षले सुरक्षा फौज नै बसाएको छ ।

पछिल्लो समय अतिक्रमित क्षेत्रमा भारतीय सेनाको उपस्थिति मात्रै होइन, मोर्चाबन्दी र हवाई युद्धकै तयारी भइरहेझैँ अनुभूति दिन्छ । तर नेपालले आफ्नै भूमिमा पनि उपस्थिति भने देखाउन सकेको छैन ।

कालापानी क्षेत्रमा भारतले सीमा सुरक्षा बल ९एसएसबी० र इन्डो तिब्बतियन बोर्डर पोलिस(आईटीबीपी)को सुरक्षा दस्ता तैनाथ गरिएको जानकारी यसअघि नै सार्वजनिक भएको थियो । पछिल्लो समय भारतीय सेनाको उपस्थिति मात्रै होइन, मोर्चाबन्दी र हवाई युद्धको तयारी पनि देखिन्छ ।

उत्तराखण्ड राज्यको पिथौरागढमा केही महिनाअघि मात्रै नैनीसैनी विमानस्थल सञ्चालनमा आएको छ । नेपाल र चीनको सीमानजिकै रहेको यो विमानस्थलमा भारतीय वायु सेनाको लडाकु विमानको नियमित उडान भइरहेको छ ।

पिथौरागढदेखि ९२ किलोमिटर सडकमार्गको दूरीमा रहेको धार्चुलाभन्दा उत्तरतर्फको भूभागमा केही दिन बिराएर लडाकु विमानले गस्ती पनि गर्दै आएको छ । पिथौरागढको नैनीसैनी विमानस्थलबाट १५ किलोमिटरको हवाई रेञ्जमा भारतीय वायुसेनाको लडाकु विमानले उडान गरिरहेकोबारे भारतीय पत्रिका हिन्दुस्तान दैनिकले अक्टोबर २३ (कात्तिक ६ गते) समाचार प्रकाशित गरेको छ ।

तपाईको प्रतिक्रिया