इटहरी/ इटहरी–धरान सडकअन्तर्गत लामो समयदेखि विवादका कारण रोकिएको इटहरीको मुख्यचोक क्षेत्रमा मनपरी मापदण्ड बनाएको भन्दै इटहरीमा चौतर्फी विरोध भएको छ । ६ लेन सडक मनपरी मापदण्डमा बनेको भन्दै इटहरीमा विरोध भएको हो । इटहरीको धरानलाइनमा मनपरी मापदण्ड बनाएको भन्दै इटहरीबासीले विरोध गरेका हुन् ।

इटहरी क्षेत्रमा मनपरी मापदण्ड कायम गरेको भन्दै इटहरीका सुनिल कार्कीले राज्यका लागि सबै जनता समान हैनन् र ? के सम्पत्ति र पहुँचका आधारमा राज्यले जनतालाई फरक व्यवहार गर्न मिल्छ ? भनी प्रश्न गरे । यस्तै यस्तै प्रश्नले आम इटहरीबासीलाई पिरोलिरहेको छ । ‘केही मिटरअगाडि जनताको घरलगायत अनेकन संरचना र जग्गा नै उडाइएको छ । कहीँ नापेर संरचना जगाइएका छन्, के यही हो न्याय ? के यही यो कानूनी राज्य ?’– उनले प्रश्न गरेका छन् ।

नेकपाका युवा नेता मदन चूडालले पनि इटहरी क्षेत्रमा मनपरी मापदण्ड तत्काल रोक्न माग गरेका छन् । सरकारको अर्बौं रुपैयाँको योजनामा खेलाँची भइरहेको भन्दै तत्काल अनुगमन गरेर काम रोक्न माग गरे । सरकार र आयोजनाको बेवास्ताको कारण मनपरी मापदण्ड भएको भन्दै उनले आपत्ति जनाए । इटहरीमा पहुँचवालाको घरअगाडि एउटा मापदण्ड र अर्को ठाउँमा अर्कै मापदण्ड गर्न नहुने उनले बताए ।

इटहरी र तरहरा क्षेत्रमा फरक–फरक मापदण्ड बनाएको भन्दै गोरखा डिपार्टमेण्ट स्टोरअगाडि गालीगलौज गरेको आरोपमा तरहराका नवराज मैनाली पक्राउ परेका छन् । उनले डिपार्टमेण्टअगाडि आएर इटहरी र तरहरा क्षेत्रमा एउटै मापदण्डमा काम गर्न माग गरेका थिए । तरहरा र इटहरी चौक एउटै बाटोमा जथाभावी मापदण्ड बनाएको भन्दै उनले विरोध जनाएका थिए ।

इटहरीको तरहरा क्षेत्रमा सडक विस्तार साढे ८२ फिट नै कायम गरे पनि इटहरीको मुख्यचौकमा भने ठूला व्यापारीको पहुँचले ६५ फिट मात्र किन बनाएको भन्दै मैनालीले डिपार्टमेण्टको सटर तानेका थिए । उनलाई अहिले इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । मुख्यबजार क्षेत्रमा रहेका धेरै घरहरू भत्कने भन्दै बाटो सानो बनाउन ठूलाबडा लागेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । रानी–विराटनगर–इटहरी–धरान ३९ किलोमिटर सडक–खण्डमध्ये ३४ किलोमिटरमा काम भइरहेको जनाइएको छ । सो सडक योजनाको काम आगामी असार मसान्तसम्ममा सम्पन्न गरिसक्नु पर्ने भए पनि इटहरीमा सीमा कायम गर्ने कामसमेत हुन सकेको थिएन ।

यता ६ लेन सडक आयोजनाका इञ्जिनियर गौतम देवले भने जग्गाअनुसारको मापदण्ड फरक भएको स्वीकार गरे । इटहरी चौक र तरहरा आँपगाछी आसपासमा फरक मापदण्ड भएको देव बताउँछन् । इटहरीको मुख्य चौकमा हाल ६५ फिट मात्र कायम हुने सहमतिअनुसार सडक विस्तारको काम भइरहेको देवको भनाइ थियो

 

 

तपाईको प्रतिक्रिया