संघीय समाजवादी फोरम र नयाँ शक्ति एकीकृत भएर बनेको समाजवादी पार्टी असफल भए मुलुक नै असफल हुने निष्कर्षसहितको राजनीतिक प्रतिवेदन पहिलो परिषद् बैठकमा पेस भएको छ।      पूर्वप्रधानमन्‍त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बिहीबार सुरु भएको परिषद् बैठकमा यस्तो प्रतिवेदन पेस गरेका हुन्। भट्टराईले पेस गरेको २५ पृष्ठ लामो प्रतिवेदनमा ‘राष्ट्रिय राजनीतिमा वैचारिक तथा राजनीतिक तेस्रो ध्रुव’निर्माण गर्ने मिसनसहित एकीकरण भएको उल्लेख छ।

१७ बुँदे प्रतिवेदनमा भनिएको छ, ‘हामी पुराना शासक पार्टीले गर्ने प्रोपागण्डा र छर्ने भ्रमबाट किमार्थ प्रभावित हुनु हुँदैन । तेस्रो ध्रुव भनेको तेस्रो पार्टी हैन । तेस्रो पार्टी भोटको मात्राले निर्धारण गर्दछ, त्यो निर्वाचन नै पिच्छे फरक हुन्छ । तेस्रो ध्रुव विचार र एजेण्डाले निर्माण गर्दछ, त्यो भनेको पुँजीवादी  वा साम्यवादी, कांग्रेस वा कम्युनिस्ट हुन खुलेआम अस्वीकार गर्नु हो । हाम्रो महत्वाकांक्षा तेस्रो धार र पहिलो पार्टी हो ।’

‘समाजवादी थप एक थान पार्टी हैन । हुनु हुँदैन । हुन सक्दैन । यो पार्टीसंग उत्पीडित राष्ट्रियताको मुक्ति र शोषितपीडित जनसमुदायको भाग्य र भविष्य जोडिएको छ । यो पार्टीसँग जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोह, आदिवासी/जनजाति, थारु, खस, मुस्लिम, शिल्पी/दलित, महिला आदि आन्दोलनको गौरव र विरासत जोडिएको छ’, उनले समाजवादी पार्टीको भविष्य उज्ज‍वल रहेको उल्लेख गर्दै भनेका छन्, ‘तसर्थ समाजवादी पार्टी असफल हुने सुविधामा बनेको पार्टी हैन । यो पार्टी असफल भएमा पार्टी मात्र हैन, देश नै असफल हुनेछ । जस्तो कि अहिले भइरहेको छ ।’

 

तपाईको प्रतिक्रिया