विराटनगर, २८ कात्तिक । आफू र नाबालक छोराको बिचल्ली बनाएर श्रीमान वैदेशिक रोजगारीमा जान लागेको भन्दै एक विवाहित युवतीले त्यसमा रोक लगाइदिन आग्रह गरेकी छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ का २४ वर्षीय सचिन दाहाल पारिवारिक सल्लाह बिनानै दुवई जान लागेको भन्दै श्रीमती २३ वर्षीय दिप्ती सिलवाल (दाहाल)ले श्रम तथा रोजगार कार्यालय विराटनगरमा पुगेर यस्तो आग्रह गर्नु भएको हो । श्रीमानको एयरपोर्ट रोक्काको माग गर्दै श्रम कार्यालयमा निवेदन पनि दिनु भएको छ । पारिवारिक सरसल्लाह बिना नै श्रीमान विदेश जान लागेकाले आफू र तीन वर्षको नाबालक छोराको विचल्ली हुने निवेदनमा खुलाइएको छ । दिप्ती र सचिवबीच पाँच वर्ष अघि प्रेम विवाह भएको हो । उनीहरुका तीन वर्षीय छोरा पनि छन् । श्रम कार्यालयमा भेटिएकी दिप्तीले पारिवारिक सल्लाह नगरिकन विदेश जान लागेको कुरा राहदानी बनाएर पेस गरेपछि मात्रै थाहा पाएको बताउनु भयो । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले विवाहित युवतीले दिएको निवेदनका आधारमा विदेश जान रोक लगाउँदै उनका श्रीमानको एयरपोर्ट रोक्का गरिएको बताउनु भयो । दुवै जना मिलेर आएमा र श्रीमती राजी भएका खण्डमा मात्रै सचिनलाई विदेश जान खुल्ला गर्न सकिने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया