सुर्खेत / जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सुर्खेतमा ३०० छाउगोठ भत्काइएको छ। सरकारले छाउगोठ हटाउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी नेतृत्वको टोलीले तीन दिनको अवधिमा ३०० छाउगोठ भत्काएको हो।

जिल्ला प्रशासन कार्यालयले पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा छाउगोठ भत्काउने अभियानलाई पहिलो प्राथमिकतामा राखेको छ।

यहाँका यी तीन स्थानीय तहमा छाउपडी कुप्रथा व्याप्त रहेको छ। यसअघि विभिन्न गैरसरकारी संस्थाको पहलमा छाउपडीमुक्त घोषणा गरिए पनि स्थानीयले पुनः छाउगोठ निर्माण गरी प्रयोगमा ल्याएका हुन्।

महिनावारी भएकी महिलालाई घरदेखि अलग्गै हावा तथा प्रकाश नछिर्ने गरी बनाइएका स–साना घरलाई छाउगोठ भन्ने गरिन्छ। महिनावारी हुँदा कम्तीमा पाँचदेखि सात दिनसम्म छाउ बार्ने चलनलाई ‘छाउपडी’ भन्ने गरिन्छ। ‘छाउपडी’ बस्ने घर नै छाउगोठ हुन्।

पछिल्लो समय छाउगोठमा महिलाको मृत्यु हुने क्रम बढेपछि गृह मन्त्रालयले स्थानीय प्रशासनलाई त्यस्ता छाउगोठ हटाउन कडा निर्देशन दिएको हो।

सुर्खेतमा करिब एक हजार ८०० छाउगोठ रहेको बताइएको छ।

छाउगोठमा बसाल्न उत्पे्ररित गर्ने धामीझाँक्रीलाई समेत सचेत गराउने तयारी रहेको प्रजिअ अधिकारीको भनाइ छ।

मुलुकी अपराधसंहितामा छाउपडीलाई अपराधका रुपमा परिभाषित गर्दै छाउगोठमा बस्ने र बस्न पठाउने दुवैलाई तीन महिना कैद र रु तीन हजार जरिवानाको व्यवस्था छ।

तपाईको प्रतिक्रिया