काठमाडौं / असन्तुष्ट पक्षको भेलामा सहभागी हुन आएका कांग्रेसका ४७ जिल्ला सभापतिहरुले आज बिहीबार पार्टी सभापति शेरबहादुर देउवालाई भेट्ने भएका छन् । सभापति देउवाका पछिल्ला कदमको विरोधमा रहँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षका जिल्ला सभापतिहरुलाई परामर्शका लागि बोलाएका हुन् । सभापतिहरुले देउवालाई केन्द्रीय समितिले बहुमतका आधारमा गरेका निर्णय सच्च्याउन आग्रह गर्ने भएका छन् ।

केन्द्रीय समितिको बहुमतबाट महाधिवेशनको मिति, विभागको विस्तार र क्रियाशील सदस्यता खुला गर्नेगरी विधानको धारा निलम्बन गर्ने निर्णय गरेपछि का‌ंग्रेसमा विवाद चर्किएको हो। यी निर्णयहरुको विरोधमा पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला समूहले बैठकहरु बहिस्कार गर्दै आएका छन्। नेता पौडेलको सभापतित्वमा तीन दिनसम्म पार्टी कार्यालयमा चलेको परामर्श बैठकले देउवालाई निर्णय सच्च्याउन लिखित आग्रह गर्ने निर्णय गरेको हो। देउवासँग सभापतिहरुलेबिहान १० बजे भेट्ने तय भएको काभ्रेका कांग्रेस सभापति मधु आचार्यले जानकारी दिए। ‘सभापतिहरुको तर्फबट मैले समय मागेको थिएँ। उहाँले बिहीबार बिहान १० बजेको समय दिनु भएको छ,’ आचार्यले भने। सभापतिहरुलाई देउवाले बिहानको लञ्च पनि दिनेछन्।

‘केन्द्रीय कार्यसमितिको बहुमतले पुस ११ गते गरेका निर्णय खारेज, विवाद समाधानका लागि भइरहेको वार्ता र संवादलाई निरन्तरता दिन लिखित आग्रह गर्छौ,’ आचार्यले भने, ‘गत वर्ष महासमिति बैठकले बनाएको विधान पूर्ण रुपमा कार्यान्वयन नहुँदै, केन्द्रीय कार्यसमितिबाट मिच्नु उपयुक्त नहुने सुझाव हाम्रो सभापतिलाई हुन्छ।’ पार्टी महाधिवेशनको मिति बहुमतले नभइ सर्वसम्मतिमा निर्धारण गर्ने वातावरण निर्माण गर्नसमेत सभापतिलाई आग्रह गर्ने निकर्ष परामर्श समितिले निकालेको छ। सोमबार सुरु भएको परामर्श बैठक बुधबार सकिएको हो। कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया