कोशी टप्पु बन्य जन्तु आरक्षबाट खानाको खोजीमा निस्कने जंगली हात्ती पछिल्लो समयमा सप्तकोशी नदी पारीको सप्तरीका मध्यवर्ती क्षेत्रका गाउँबस्तीहरुका प्रवेश गरेर वितण्डा मच्याउने क्रम बढेर गएको छ ।

सुनसरी जिल्लासँग सिमाना जोडिएको सप्तरीको उत्तरी भेगका बस्तीमा पछिल्लो करिब एक दुई महिनादेखि दैनिक जसो आरक्षबाट निस्कने हात्ती प्रवेश गर्ने र स्थानीयका घर र बालिनाली क्षति गरिदिने गरेको छ ।

यसअघि सुनसरतर्फ मात्रै धेरै क्षति पु¥याउँदै आएको जंगली हात्ती पछिल्लो समयमा आरक्षले हात्तीसार उदयपुर सप्तरीको सीमा क्षेत्रमा सारेपछि जंगली हात्ती आरक्ष पश्चिम र उत्तरतर्फ लागेको हो ।

सुनसरी जिल्लामा भने पछिल्ला दुई महिनामा जंगली हात्तीको आक्रमणको घटना एक दमै न्यून बन्दै गएको छ । आरक्षको हात्तीसारमा पालिएका ढोई हात्तिको संसर्गका लागि आउने जंगली हात्ती हात्तीसार सारेसँगै उतैतिर बढी समय बिताउने गरेको माउतेहरु बताउँछन ।

पछिल्लो पटक जङ्गली हात्तीले सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको कार्यालयसँगै जोडिएको बस्तीमा पसेर तीन घरमा तोडंोफोड गरेको छ ।

मध्यरातमा आएको हात्तीले गाउँपालिका कार्यालयसँगै जोडिएको वडा नं २ मा १ र वडा नं ४ का २ घर गरी तीन घरमा तोडफोड गरी क्षति गरेको पीडितहरुले जनाएका छन् ।

तीन वटाको समूहमा आएको ती हात्तीले आक्रमण गरी चामल, तोरी, तरकारी दाल, फर्निचर, घर र तरकारीबाली गरी रु ६० हजार बढीको धन सम्पत्ति खाएर र कुल्चेर नष्ट गरेको जनाइएको छ ।

उनीहरुले घरमा खानका लागि जोहो गरेर राखेको अन्नपातसमेत हात्तीले खाइदिएको छ । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा अझैसम्म हात्तीको आतंक नरोकिएपछि स्थानीयवासी दैनिक चिसोको बेला राति जाग्राम बस्नुपरेको पीडित बताउँछन् ।

पछिल्ला केही दिनदेखि लगातार जिल्लाको शम्भुनाथ नगरपालिका तथा अग्निसाइर कृष्णसवरन गाउँपालिकामा जंगली हात्तीको समूहले घर भत्काउँदा लाखौंँको क्षति भएको छ ।

जङ्गली हात्तीद्वारा अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ का दीपक खड्का र ४ का राजन पौडेल तथा टङ्क पौडेलको घरमा तोडफोड गर्दा घनमाल क्षति हुनुको साथै घरभित्र रहेको विभिन्न अन्न, चामल, धान, फर्निचर नष्ट गर्नुका साथै विभिन्न सामग्री कुल्चिएर तोडफोड गरेको पीडितहरुले बताएका छन् ।

हात्तीको समूहले शम्भुनाथ नगरपालिका–२ स्थित मोहम्मद सहादत मियाँका छोरा मो. हजरत मियाँ र मो. असरफ मियाँको घर भत्काई चामल, अन्न, धान, फर्निचर र घर भत्काई लाखौँंको क्षति गरेको छ ।

हात्तीको समूहले घर भत्काउँदा सप्तरीको रुपनी र अग्निसाइर कृष्णासवरन गाउँपालिकामा छ घरपरिवार अहिले विचल्लीमा परेका छन् ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट सात वटाको समूहमा आएको जङ्गली हात्तीको समूहले रुपनी गाउँपालिकाका बालकृष्ण खुलाल मगर, सुरज राई, दिनेश राई, चतुरमान राई र अग्निसाइर कृष्णासवरन गाउँपालिकाका डुब्जसिंह तामाङको घर भत्काउँदा उनीहरु विचल्लीमा परेका हुन् ।

यसैबीच सप्तरीको उत्तरपूर्वी भेगमा हात्तीले गर्दै आएको क्षति कम गर्न स्थानीय सरकारले मौरीपालनको योजना ल्याउन लागेको छ ।

कानून अभावका कारण दीर्घकालीनरूपमा जङ्गली हात्ती नियन्त्रण गर्न समस्या थपिएपछि विज्ञहरुको सुझावमा मौरीपालनको आयोजना अघि बढाइएको अग्निसाइर कृष्णसवरन गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले बताए ।

तपाईको प्रतिक्रिया