अवैध ढंगले खोला उत्खननकाे विरोध गर्ने धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोको हत्या भएको छ।
आज (शुक्रबार) बिहान अन्दाजी पाँच बजे छिमेकी साथी रोशन यादवसँग मर्निङवाक गएको बेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर उनको हत्या गरिएको हो।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटना लगतै प्रहरी पुगेर शव बरामद गरेको छ। टिपर प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिपरले किचेर दिलिपको हत्या गरेको हुन सक्ने ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए। घटना पश्चात् टिपर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा स्थानीय भेला भएर घटनाको विरोध गरिरहेका छन्। गिट्टीबालुवा उत्खनन गरिरहेकै ठाउँमा उनको हत्या भएको हो।
दीलिपले पहिलादेखि नै अवैध रुपमा हुँदै आएको खोला उत्खनननकाे विरोध गर्दै आएका थिए। सोही कारण क्रसर सञ्चालकले उनको नियाेजित रुपमा हत्या गरेको स्थानीयले बताएका छन्।
घटनाको विरोधमा स्थानीयले मिथला नगरपालिकाको श्रीपुर स्थित रामलक्ष्मण चोकमा सडकमा टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।






















