काठमाडौँ / २०५५ साल पुस २४ सुरक्षाकर्मीले राजेन्द्र ढकाललाई गिरफ्तार गर्दा छोरा विवेक ढकाल एक वर्षका थिए। अहिले उनी २२ वर्षका भए। तर, राज्यले अहिलेसम्म उनका बुवाको वास्तविकता पत्ता लगाउन सकेको छैन। राजेन्द्रसँगै गिरफ्तार भएका अन्य दुई शिक्षक दुई दिनपछि छुटेपनि उनको अवस्था भने २१ वर्षदेखि अज्ञात छ । बिहीबार राजधानीको नयाँ बजारमा आयोजित ‘राज्यद्वारा बेपत्ता पारिएका राजेन्द्र ढकाल स्मरण र खोज अभियान’ कार्यक्रममा बोल्दै विवेकले बुवाको वास्तविकता थाहा नभएसम्म खोजी निरन्तर रहने बताए। उनले बेपत्ता बुवालाई सहिद भन्ने गल्ती नगर्न नेतालाई सुझावसमेत दिए।

‘बुवाको वास्तविकता थाहा नपाउन्जेलसम्मका लागि खोजको पहल निरन्तर जारी राख्नेछौँ’, विवेकले भने, ‘मेरो बुवा बेपत्ता हो, कृपया सहिद भन्ने गल्ती नगर्नुहोला।’ एक वर्षको छोरा विवेक यसरी बुवाको खोजीमा बुलन्द बोल्न सक्ने भए तर राजेन्द्रको अवस्था अज्ञात अज्ञात नै छ। तत्कालीन माओवादीको युद्धलाई सघाएको आरोपमा राजेन्द्र तनहुँको गाम्दी खोलामा नुवाइरहेका बेला गिरफ्तार भएका थिए। उनको गिरफ्तारी बेलचौतारा इलाका प्रहरी कार्यालयका तत्कालीन इन्सपेक्टर कुशविक्रम राणाको टोलीले गरेको थियो।

बेपत्ता राजेन्द्रको खोजीमा श्रीमती विमला, छोरीहरु मञ्जिमा, ममतासँगै विवेक निरन्तर लागिरहेका छन्। न्यायलयले राजेन्द्रको गिरफ्तारीको नेतृत्व गर्ने इन्सपेक्टर राणालाई पक्राउ गरेर अनुसन्धान गर्न आदेश दिए पनि उनी पक्राउ परेका छैनन्। राजेन्द्रका भाइ रवीन्द्रले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०६४ जेठ १८ गते राणालाई पक्राउ आदेश दिएको थियो। राणा पक्राउ परेर अनुसन्धान भए वास्तविकता पत्ता लाग्ने आशा ढकाल परिवारसँग अझै छ। तर, न राणा पक्राउ परेका छन् न त ढकाल परिवारको पीडा कम भएको छ। अदालतको आदेशसमेत कार्यान्वयन नहुँदा परिवारको पीडामा आक्रोश थपिएको छ।

ढकाल पत्नी विमलाले आफ्नो श्रीमानको वास्तविकता सार्वजनिक गर्नमा राज्य उदासिन भएको गुनासो गरिन्। उनले संक्रमणकालीन न्यायको टुंगो लगाउन र जनयुद्धको समयमा बेपत्ता भएकाको वास्तविकता पत्ता लगाउन गठन भएको सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग काम बिहिन हुनु दुःखद् भएको बताइन्। ‘बेपत्ता छानबिन आयोग आफै गुमनाम छ। बेपत्ताको अवस्था के छ रु’, प्रश्न गर्दै विमलाले भनिन्, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेतृत्व बिहिन हुँदा परिवारको चोटमा अझ पीडा थपिएको छ ।’ उनले राज्यले बेपत्ताको खोजी नगरे पनि आफ्नो श्रीमानका विषयमा वास्तविकता पत्ता नलागेसम्म निरन्तर खवरदारी गरिरहने बताइन्।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सदस्य हरि अधिकारीले ढकालको वास्तविकता सार्वजनिक गर्नुपर्ने बताए। ‘ढकाल मारिएको भए पनि प्रमाणसहित वास्तविकता राज्यले दिनुपर्छ’, अधिकारीले भने, ‘होइन भने सत्य के हो रु पत्ता लगाउन सरकारले पहल गर्नुपर्छ ।’ अधिकारीले अहिले नेकपाकै बहुमत सरकारले बेपत्ता छानबिन र वास्तविकता ल्याउन नसक्नु दुःखद् भएको टिप्पणी गरे। तत्कालीन माओवादीले गरेको १० वर्षे युद्धका क्रममा दुई हजार दुई सय ८९ नागरिक बेपत्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको आयोगको रेकर्डमा उल्लेख छ।

आयोगको तथ्यांक अनुसार द्वन्द्वको समयमा सबैभन्दा धेरै बर्दियाबाट दुई सय ४२ बेपत्ता भएका थिए। गोरखा जिल्लाबाट मात्र ३७ नागरिक बेपत्ता भएका थिए। सरकार र राजनीतिक नेतृत्व गम्भीर नुहँदा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग पदाधिकारी बिहिन छ। अन्नपूर्णबाट पाेष्ट दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया