काठमाडौं– जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि अवस्था तनापूर्ण भएको छ ।

सुत्केरीको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरेका हुन् ।

भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईले २४ गते विहिवार राति ११ बजे बच्चालाई जन्म दिएकी थिइन् ।

बच्चा जन्मन समस्या भएपछि भ्याकुम लगाएर बच्चालाई जन्म दिइएको थियो । तर चिकित्सकहरुले लापरवाही गर्दा सुत्केरीको मृत्यु भएको सुनिताका परिवारजनको आरोप छ ।

बच्चा जन्माउने क्रममा लगाइएको भ्याकुमलाई सही रुपमा प्रयोग नगरिएको र भ्याकुमले सुत्केरीको पाठेघरसमेत तानेर चुँडाइदिएको आरोप मृतकका आफन्तले लगाएका छन् । बच्चाको अवस्था भने सामान्य रहेको छ ।

आफन्तले घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् भने अस्पतालमा समेत उनीहरुले तोडफोड गरेका छन् । अस्पतालमा तोडफोड शुरु भएपछि अस्पताल प्रशासनले प्रहरीसँग सुरक्षा माग गरेको थियो ।

अहिले अस्पतालमा प्रहरीको बाक्लो उपस्थित रहेको छ ।

तपाईको प्रतिक्रिया