विराटनगर / जलाउन लागेको अवस्थामा प्रहरीले विराटनगरस्थित सिंघीया खोलको घाटबाट एक महिलाको शव नियन्त्रणमा लिएको छ । घाँटीमा शंकास्पद डाम देखिएपछि विराटनगर महानगरपालिका–८ बलुवाइकी २८ वर्षीया प्रेमदेवी साहको शव बिहीबार नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । उनकाअनुसार जलाउनका लागि घाटमा पु¥याएर चिता समेत बनाइसकेपछि घटना शंकास्पद रहेको जानकारी आएको थियो । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ ।
शव नियन्त्रणमा लिन वडा प्रहरी कार्यालय हाटखोलाबाट सइ मनोज अधिकारी र जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्सपेक्टर रामबहादुर ढकाल नेत्रृत्वको अलग–अलग टोली घाटमा पुगेको थियो । एसपी अधिकारी घटनास्थल मुचुल्का तयार पारेर शव नियन्त्रणमा लिएपछि पोस्टमार्टमका लागि ल्याइएको बताए ।
‘घटना अलि शंकास्पद देखिएपछि शवलाई नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘सबै कोणबाट अनुसन्धान गर्ने काम भइरहेको छ । प्रहरीले प्रेमदेवीका श्रीमान गोविन्द साहलाई पनि नियन्त्रणमा लिएको छ । गोविन्दसँग उनको १२ वर्ष अघि मागी विवाह भएको हो । उनीहरुका १० र ८ वर्षका दुई छोरा छन् ।
गोविन्दले भने श्रीमती केही समयदेखि मानसिक बिरामी रहेको बताए । ‘चार÷पाँच महिना अघि सलले घाँटी कसेर आत्महत्याको प्रयास पनि गरेकी थिइन्,’ उनले भने, ‘अहिले घाँटीमा देखिएको भनिएको त्यति बेलाकै डाम हो ।’ मानसिक बिरामीका कारण छटपट गरेपछि आफूले बिहान ३ बजेसम्म रुँघेर बसेको र निद्रा लागेर झकाएपछि श्रीमतीको मृत्यु भएको उनले बताए । गोविन्दले बिहान ५ बजे उठेर हेर्दा सुतेको खाटबाट तल झरेको र मृत्यु भएको अवस्थामा आफूले श्रीमतीलाई पाएको बताए ।
माइती पक्षले भने सलले घाँटी कसेको भए पनि त्यतिबेला कुनै डाम नभएको बताएका छन् । प्रहरीले पनि उक्त डाम पुरानो नभइकन नयाँ नै भएको बताए ।






















