विराटनगर / मोरङको कटहरी गाउँपालिका–१ का ४० वर्षीय मोहम्मद कयुवलाई बाख्राको मासु बेच्दै गरेको अवस्थामा प्रहरीले बिहीबार विराटनगरको भृकुटी चौकबाट पक्राउ गरेको छ ।
खसीको भनेर बाख्राको मासु बेच्दै गरेको पाइएपछि पक्राउ गरिएको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले बताउनुभयो । प्रहरीकाअनुसार केयुवले गाउँबाटै बाख्रा काटेर मासु बिक्रीका लागि विराटनगर ल्याउने गरेका थिए । उनको साथबाट पाँच किलो मासु समेत प्रहरीले बरामद गरेको छ ।
केयुवले अर्डर अनुसार नै बाख्राको मासु ल्याउने गरेको बताएका छन् । उनले कटहरीमै बाख्रा काटेर विराटनगरमा बिक्रीका लागि मासु लिएर आउने गरेको खुलेको प्रहरीले जनाएको छ । बाख्राको मासु बिक्रीमा संलग्न कटहरी–१ का २२ वर्षीय मोहम्मद आरिफ भने फरार रहेको डीएसपी गौतमले बताए।
केयुवलाई पक्राउ गर्नासाथ उनी फरार भएको प्रहरीले जनाएको छ । आरिफलाई खसीको भन्दै बाख्रीको मासु बिक्री गरिरहेको अवस्थामा विराटनगरको गुद्री बजारबाट छ महिना अघि पनि प्रहरीले पक्राउ गरेको थियो ।






















