मोरङको धनपालनथानमा ग्याङफाइट हुँदा तीनजना घाइते भएका छन् । धनपालनथान गाउँपालिका–४ हरकपुरमा शनिबार राती मादक पदार्थ सेवनपछि युवा बीचमा उत्पन्न विवाद ग्याङ फाइटमा परिणत भएको हो ।

ग्याङफाइट घाइते भएका तीन मध्ये दुईजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । ४२ वर्षीय विसुनदेव मुखिया, ३० वर्षीय बलराम मुखिया, २४ वर्षीय धनीराम मुखियाको समूह र ३५ वर्षीय मणिचन महतो, ६० वर्षीय रामविलास महतो, ३२ वर्षीय शंकर महतो, २१ वर्षीय हरिओम महतो, २६ वर्षीय किसुन महतोको समूह बीच ग्याङ फाइट भएको हो ।

घटनामा विसुनदेव, बलराम र किसुन घाइते भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घाइतेमध्ये विसुनदेव र बलरामको अवस्था गम्भीर रहेको जनाइएको छ । चिन्ताजनक अवस्थामा विराटनगरको न्युरो अस्पतालमा उपचाररत विसुनदेवको टाउकोको शल्यक्रिया गरिएको र दुवैजनाको आइसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गोल्डेन अस्पतालमा उपचाररत किसुनको टाउकोमा सात टाँका लगाइएको भएपनि अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । होटलमा मादक पदार्थ सेवन गर्ने क्रममा दुई युवाहरु हरिओम र धनीरामबीच विवाद सुरु भएको थियो । होटलबाट निस्किएर अघि बढेका उनीहरुले फोन गरेर आ–आफ्ना मान्छेलाई बोलाएपछि दुवै पक्षबीच ग्याङ फाइट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया