मोरङ /  नांगो फोटो फेसबुकमा हालिदिने भन्दै धम्काएर पटक पटक बलात्कार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ पथरीशनिश्चरे नगरपालिका ७ का २५ वर्षीय रविन आचार्यलाई धम्काएर बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

तीन महिनादेखि विभिन्न खाले डर देखाएर ब्ल्याकमेल गर्दै प्रभावमा पारेर बलात्कार गरिरहेको किटानी जाहेरी परेपछि आचार्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानबाट सात पटक भन्दा बढी बलात्कार गरेको खुलेको छ ।

प्रहरीका अनुसार फेसबुकमार्फत युवाले ब्ल्याकमेल गरेको पुष्टि भएको छ। ब्ल्याकमेल गरिएका धेरै प्रमाण प्रहरीले जुटाएको छ। फेसबुकमा जोडिएका दुवै जनाबीच कुराकानी हुने गरेको र त्यसक्रममा युवाले ब्ल्याकमेल गरेको प्रहरीले जनाएको छ ।

उनकाअनुसार म सँग तिम्रो नांगो फोटो छ । त्यसलाई भाइरल बनाइदिन्छु । यदि नगर्नु हो भने मैले भनेको मान्नुपर्छ , भनेर युवाले युवतीसँग ब्ल्याकमेल गरेको खुलेको छ। बलात्कृत युवती विवाहित भएको र श्रीमानको सल्लाहमा उनले प्रहरीमा निवेदन दिएपछि आचार्यलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका आचार्यविरुद्ध आइतबार जबरजस्ती करणी मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइएको पहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया