
इनरुवा नगरपालिकाका मेयर राजन मेहताले औषधी उपचार अभावमा धेरैजसो जेष्ठ नागरिकहरु समाजमा रोगी शरीर लिएर पीडा लुकाउनु पर्ने बाध्यात्मक अवस्था भएकोले उनीहरुको एक लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेका हुन ।
बुधवार इनरुवा ३ मा जेष्ठ नागरिक मिलन केन्द्रको आयोजनामा जेष्ठ नागरिकहरुलाई नगरपालिकाबाट प्रदान गरिएको न्यानो कपडा ट्राउजर, हाइनेक, टोपी, पञ्जा र मोजा वितरण गर्दै मेयर मेहताले स्वास्थ्य बिमा निःशुल्क गर्ने घोषणा गरेका हुन ।
बिमा गर्नका लागि इनरुवा नगरपालिकाका सूचना प्रविधि इन्जीनियर निरज पोखरेललाई फोकल पर्सनको जिम्मेवारी दिएर लगत संकलन गरी कार्य सुरु गर्न निर्देशन मेयर मेहताले दिएका छन ।
पहिलो चरणमा जेष्ठ नागरिक मिलन केन्द्रमा आवद्ध रहेका जेष्ठ नागरिकहरुको स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराई उनीहरुलाई वार्षिक एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार खर्च विमाबाट उपलब्ध गराउने मेयर मेहताले प्रतिवद्धतासमेत जनाउँदै विमा कार्यलाई छिटो पुरा गर्ने बताए ।
परिवारबाट आमाबुवालाई माया सम्मान नगर्दा जेष्ठ नागरिकहरुले स्वास्थ्य समस्याका कारण शारीरिक, मानसिक पीडा लुकाएर बस्न बाध्य हुनु समाजका लागि लज्जाजनक अवश्था भएकाले नगरपालिकाले सवै जेष्ठ नागरिकहरुलाई स्वास्थ्य बिमामार्फत रोग र उपचारको अभावमा पीडा भोग्ने अवश्थाको अन्त्य गरिने मेहताले बताए ।
यसैगरी जेष्ठ नागरिकहरुलाई निःशुल्क रुपमा उनीहरुले इच्छा गरेको धार्मिक पर्यटकीय स्थलहरुमा तिर्थाटन गराउने योजना रहेको बताउँदै मेयर मेहताले जेष्ठ नागरिक मिलन केन्द्रसँग समन्वय गरी तिर्थयात्राको मिति समय र गन्तव्य तय गर्नका लागि सुचना प्रविधि इन्जीनियर निरज पोखरेललाई लगत संकलन गरि सूची तयार गर्न निर्देशन दिएका छन ।
मेयर राजन मेहताले इनरुवा नगरपालिकाले जेष्ठ नागरिकहरुलाई तिर्थयात्रा गराउने कार्यको थालनी गरेर उनीहरुको मुहारमा हाँसो खुशी र शरीरमा उम∙ ल्याउन प्रतिवद्ध रहेको बताए ।
कार्यक्रम जेष्ठ नागरिक मिलन केन्द्र इनरुवाका अध्यक्ष महानन्द दाहालको अध्यक्षतामा भएको थियो भने स्वागत सचिव गणेश दुलाल संञ्चालन राजेन्द्र पोखरेलले गरेका थिए ।






















