विराटनगर/  उच्च अदालत विराटनगरमा आफू विरुद्धको जवरजस्ती करणी मुद्दाको सुनुवाई चलिरहेका बेला बलात्कार आरोपी सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरी आज दिउँसो भारततिर लागेका छन् ।

सरकारले उपलब्ध गराएको निजी सुरक्षा गार्डलाई भने नेपाल–भारत सीमा क्षेत्रबाटै फिर्ता पठाइदिएर विराटनगरको जोगवनी नाका हुँदै उनी भारततर्फ हिँंडेका हुन् । सिद्धबाबा आफ्ना केही अनुयायीसहित ग १ च ८१५७ नम्बरको पजेरो गाडी चढेर भारततिर लागेका छन् । केही समर्थक र अयुयायीका साथमा सिद्धबाबा सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट बिहान उच्च अदालत जाने भनेर हिँडेका थिए । अदालत नपुगिकन सिधै जोगवनी हानिएका उनले दिउँसो १ बजे सीमा पारेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताउनु भयो । स्वास्थ्य उपचारका लागि भन्दै उनी दिल्ली गएको स्रोतले बतायो । सिद्धबाबा एक साता पहिले पनि उपचारका लागि भन्दै भारत पुगेर फर्किएका थिए । त्यसकै ‘फलोअप’का लागि फेरि गएको उनी निकट स्रोतले बतायो । मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद बगालेको इजलासमा पेसी चढेको मुद्दाको सुनुवाई आज जारी रहेका बेला उनी भारत जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ । सुनुवाईपछि आउने अदालतको आदेशको पर्खाइमा उनी रहेको स्रोतको दाबी छ । आफू निकटका कानुनी व्यवसायीसँग सल्लाह गरेरै उनी भारततिर लागेको बताइएको छ । आफ्नो पक्षमा आदेश आएमा नेपाल फर्किने र विपक्षमा आएमा भारततिरै रहने हिसाबको तयारी सिद्धबाबाले गरेको स्रोतको भनाइ छ । गत बिहीबार नै पेसी तोकिएको मुद्दाको सुनुवाई बलात्कार पीडित भनिएकी महिलाका कानुन व्यवसायीले हटाएपछि स्थगित भएको थियो । दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो । जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले मागेको धरौटी वापतको तीन लाख रुपैयाँ बुझाएर पुस १४ गते उनी छुटेपछि मुद्दा उच्चमा पुगेको थियो । जिल्लाको आदेश बेरितको रहेको भन्दै त्यसलाई बदर गरी प्रतिवादी सिद्धबाबालाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न माग गर्दै उच्च सरकारी वकिल कार्यालय विराटनगरले मुद्दा उच्चमा पुर्याएको थियो ।

तपाईको प्रतिक्रिया