विराटनगर महानगरपालिका–९ का सुनिल अटलको मोटरसाइकल घरमै राखेको अवस्थामा गत २२ भदौमा हरायो ।
मोटरसाइकल हराएपछि उनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए ।
६ महिनासम्म उनले मोटरसाइकल भेटिएको थिएन । प्रहरीलाई आग्रह गर्दा खोजिरहेका छौं भन्ने जवाफ आउथ्यो ।

तर शनिबार अटलले विराटनगर ट्राफिक चोकमा सञ्चालन गरेको मेडिकल पसल अगाडि स्पलेन्डर मोटरसाइकलमा ट्राफिक प्रहरी हवल्दार मोहन खतिवडा आए ।
मोटरसाइकल उहीँ थियो । तर नम्बर प्लेट फरक । अटलको घरबाट हराउँदा मोटरसाइकल नम्बर को २३ प ६९२१ थियो ।
ट्राफिक प्रहरी हवल्दारले लिएर गएको मोटसाइकल नम्बर भने बा ३५ प५८९३ थियो ।
मोटरसाइकलको अगाडि लेखिएको ‘जय सियाराम’ शब्दका आधारमा अटलले आफ्नो बाइक चिने ।
नम्बर परिवर्तन गरेर मोटसाइकल चलाएको पाइएपछि उनले प्रहरीलाई बोलाए । प्रहरीले चेसिस नम्बरका आधारमा मोटसाइकल अटललाई फिर्ता गरिदियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाका अनुसार सो मोटरसाइकल करिब चार महिनाअघि सिआरभी प्रहरीले वेवारिसे अवस्थामा भेटेको थियो ।
मोटरसाइकल जिम्मा लगाउन ट्राफिक प्रहरी दिइएको थियो ।
तर सो नम्बर प्लेटको मोटरसाइकल हराएको उजुरी परेको थिएन् । मोटरसाइकल दाबी गर्ने व्यक्ति पनि आएनन् ।
मोरसाइकल लिन नआएपछि ट्राफिक प्रहरीले काम पर्दा प्रयोग गर्दै आएका थिए ।
मोटरसाइकल धनीले दाबी गरेपछि मोटरसाइकल जिम्मा लगाइएको थापाले जानकारी दिए ।






















