सुनसरीको रामधुनी नगरपालिकाभित्र सञ्चालित अधिकांश संस्थागत विद्यालयहरु कतिपय सञ्चालनको अनुमतिसमेत नलिई त कतिपयले अनुमति लिएकोभन्दा माथिल्लो कक्षा सञ्चालन गरिरहेको पाईएको छ ।

सो नगरपालिकामा तीन दर्जन संस्थागत विद्यालयहरु सञ्चालनमा रहेकोमा १३ वटा विद्यालय अनुमति विनै सञ्चालनमा रहेको पाईएको हो ।
यसका अतिरिक्त तल्लो कक्षाको अनुमति लिएर माथिल्ला कक्षा सञ्चालन गर्ने विद्यालयहरु पनि ठूलो संख्यामा भेटिएका छन ।
गएको जेठमा नै अनुमतिबाहिरका निजी विद्यालयलाई कक्षा सञ्चालन गर्न नदिने निर्णय नगरपालिकाले गरेको भएपनि शैक्षिक सत्र सुरु भइसकेकाले भन्दै निर्णय कार्यान्वयनमा तत्काल जान सकेन ।
अहिले फेरि पुरानो निर्णय कार्यान्वयन हुन नसकिरहेकै बेला नगर शिक्षा समितिले गएको माघ ५ गते उक्त निर्णयलाई नगर कार्यपालिकाबाट अनुमोदन गराएको छ ।
निर्णयमा भनिएको छ ‘रामधुनी नगरपालिका अन्तर्गत सञ्चालित संस्थागत (निजी) विद्यालयले तल्लो कक्षाको अनुमति लिइ माथिल्ला कक्षाहरु सञ्चालन गरेको वा गर्ने गरेको अनुगमनबाट समेत देखिएकाले त्यस्ता विद्यालयको हकमा अनुमति नलिएका कक्षाहरु बन्द गर्न यथासिघ्र (३ दिनभित्र) संस्थागत विद्यालयलाई पत्राचार गर्ने ।’
नगर शिक्षा समितिका सदस्यसमेत रहेका वडाध्यक्ष डेगराज फुयाल अनुमति नलिएकाको हकमा स्वत खारेजीमा पर्ने स्पष्ट पारे ।
उनले त्यस्ता सबै विद्यालयहरुलाई दर्ता नभएको भए दर्ता हुन र माथिल्लो कक्षा अध्यापन भईरहेको भए बन्द गर्न निर्देशनसहितको पत्र पठाईसकिएकोले आगामि शैक्षिकसत्रबाट निर्देशन नमानि सञ्चालन गर्न खोज्ने विद्यालयहरु बन्द गर्ने स्पष्ट पारे ।
वडा नं ३ मा रहेको नोवेल हाइस्कुलले स्थानीय सरकारसँग स्थानान्तरण अनुमति लिएकै छैन । उक्त विद्यालय अन्यन्त्रबाट रामधुनीमा सारिएको थियो । वडा नं ५ सुनगाभा मन्टेश्वरीले सञ्चालनको अनुमति लिएको छैन
वडा नं ३ मा रहेको चिल्डे«न ड्रिमल्याड स्कुलले २ कक्षासम्मको अनुमति लिएर १० कक्षासम्म सञ्चालन गरिरहेको छ । वडा नं ५ को एलएन मेमोरियलले ४ कक्षासम्म अनुमति लिएर ५ सम्म, सोहि वडाको एसडीयस
मन्टेश्वरीले पूर्वप्राथमिकको अनुमतिमा १ कक्षासम्म, वेविल्याड मन्टेश्वरीले पूर्वप्राथमिकको अनुमति लिएर २ कक्षासम्म, बालसंसार मन्टेश्वरले पूर्वप्राथमिकको अनुमति लिएर १ कक्षासम्म सञ्चालन गरिरहेको पाइएको छ ।
त्यस्तै पूर्वप्राथमिकको अनुमति लिएर वडा नं ९ को पर्पल लोटसले २ कक्षासम्म, सोहि वडाको वाल सदनले पूर्वप्राथमिकको अनुमतिमा ४ कक्षासम्म र वडा नं ३ को लुम्बिनी एकेडेमीले १ कक्षासम्म सञ्चालन गरिरहेको पाइएको छ ।
वडा नं ४ मा रहेको एजु एक्सीस बोर्डिङ्ग पनि अनुमतिबाहिर रहेको छ । पूर्वप्राथमिकको अनुमति भएपनि उक्त विद्यालय ३ कक्षासम्म सञ्चालित छ ।
वडा नं ३ को अन्नपूर्ण एकेडेमी, वडा नं ९ को इह्वीच एकेडेमी पनि सञ्चालनको अनुमतिबाहिर चलिरहेका छन् ।






















