अपहरण तथा मानव बन्धक कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई मुद्धा चलाएको छ । प्रहरीले बाग्लुङ्गको  गलकोट नगरपालिका -१ स्थायी घर भइ हाल काठमाडौं बस्दै आएका ३८ वर्षीय सागर कुंवर,बुटवल उपमहानगरपालिका -७ शिवनगरका ३२ वर्षीय सागर गुरुङ्ग,बुटवल उपमहानगरपालिका -१३ बस्ने ३३ वर्षीय ओम बराल,कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका-३ कर्माना बस्ने ४३ वर्षीय शान्ति लम्साल,अर्घाखाचीको सन्धिखर्क नगरपालिका -२ बस्ने ३२ वर्षीय प्रकाश नेपाली र रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका -९ बस्ने ३४ वर्षीय तुलसी बनलाई अपहरण तथा मानव बन्धक कसुरमा संलग्न रहेको भनी मुद्धा चलाएको हो ।

प्रहरीले जिल्ला अदालतबाट ५ दिन थुनामा राखी थप अनुसन्धान गर्न म्याद थप गराएको छ । पक्राउ परेका ६ जनाविरुद्ध  कपिलवस्तु नगरपालिका ३ मालपाराका स्थानीय ३७ वर्षीय युवा विनित मिश्राको अपहरण गरी बन्धक बनाएको आरोप छ ।

प्रहरीले  पत्रकार सम्मेलन गरी पक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको छ ।  स्थानीय युवा विनित मिश्रालाई घरबाट तौलिहवा बजार आउँदै गर्दा शिवमन्दिर टोल नजिकैको मुख्य सडकबाट एउटा नम्बर नखुलेको सानो गाडीमा जबरजस्ती बसालेर अपहरण गरेका थिए ।

गाडीभित्र हात खुट्टा बाँधेर, मुखमा पट्टी कोचेर मिश्रालाई अपहरणकारीले बुटवल उपमहानगरपालिका -११ मैनाबगरस्थित गुल्मेली ग्रीन टाउन होटलको दोस्रो तल्लाको एक कोठमा लगेर बन्धक बनाएर राखेका थिए । सोही होटलको कोठामा हात खुट्टा बाँधेर कुटपिट गरी रकम माग गरिरहेको अवस्थामा मिश्रालाई सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक वलीले बताए ।

अपहरणको खबर पाएलगत्तै प्रहरीले खोजी  शुरु गरेको थियो । अहपरित युवा मिश्राको उद्धारका लागि प्रहरी उपरीक्षक नवरत्न पौडेलको कमाण्डमा ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझी सहितको टोली परिचालन भएको थियो ।

पक्राउ परेका सागर कुँवरको मुख्य योजनामा उनका केही सहयोगीहरूसहितले विनित मिश्रालाई अपहरण गरेका थिए  । सागर कुंवर र विनित मिश्राबीचको आपसी आर्थिक लेनदेनका कारण घटना घटेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया